रामेछापमा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराए

  • प्रकाशित मिति: आइतबार, असोज २३ २०७९
  • तामाकोशी

रामेछाप । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि रामेछापमा नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । आइतबार मध्यान्ह् सदरमुकाम मन्थलीमा रहेको मुख्य निर्वाचन कार्यालय पुगेर प्रतिनिधिसभा सदस्यका लागि कैलाश प्रसाद ढुङ्गेल, प्रदेशसभा सदस्य क मा शान्ति प्रसाद पौडेल र प्रदेश ख मा मिलनकुमार घिसिङले मनोनयन दर्ता गराउनुभएको हो । एमालेका केन्द्रीय सदस्य रहनुभएका ढुङगेल बागमती प्रदेशका निवर्तमान आर्थिम मामिला तथा योजना मन्त्री र एमाले रामेछापको जिल्ला ईन्चार्ज हुनुुहुन्छ । पौडेल बागमती प्रदेशको पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत हुनुहुन्छ । घिसिङ एमाले रामेछापको जिल्ला कमिटी सदस्य हुनुुहुन्छ ।
रामेछापमा गठबन्धबाट नेपाली कांग्रेस जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराउँदै हुनुहुन्छ । तामाङ यसअघिको प्रतिनिधिसभा सदस्यमा उठेर तत्कालिन गठबन्धनका उम्मेदवार श्याम कुमार श्रेष्ठसँग पराजित हुनुहुभएको थियो ।
प्रदेशसभा सदस्य क मा नेकपा माओवादी केन्द्रबाट पूर्व संविधानसभा सदस्य हालका रामेछाप पार्टी सचिव तारानारायण श्रेष्ठ र प्रदेश ख मा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य युवराज चौलगाईले मनोनयन दर्ता गराउँदैहुनुहुन्छ । गठबन्धनका उम्मेदवारले अपरान्ह् ४ बजे मनोनयन दर्ता गर्ने तयारी गरेको छ । गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले भने दुई प्रदेशसभा सदस्य र एक प्रतिनिधि सभा सदस्यमा छुट्टै मनोनयन दर्ता गराउने तयारी गरेको छ ।