काँग्रेस रामेछापको विवाद झन चुलियो

  • प्रकाशित मिति: बुधबार, भाद्र १ २०७९
  • तामाकोशी

रामेछाप । नेपाली काँग्रेस रामेछापको विवाद झन चुलिएको छ । सभापति पूर्णबहादुर तामाङ कान्छारामले बैठकमा उपस्थित नै नभएका कार्यसमिति सदस्यलाई प्रलोभन देखाएर किर्ते हस्ताक्षर गराएको पार्टीका असन्तुष्ट पक्षको आरोप छ । तामाङले बोलाउनुभएको बैठक बहिष्कार गर्दै आएको असन्तुष्ट समूहले सभापतिले बोलाएको बैठकमा २० जना पनि उपस्थित नभएको दाबी गरेको छ ।
पार्टी उपसभापति नबराज थोकर, सचिव विनोद कार्की, उपसचिव ध्रुव चौलागाईं लगायत जिल्ला कार्यसमितिका २६ जना सदस्यले संयुक्त विज्ञप्ति जारी गरी पार्टीलाई बचाउने हो भने तत्काल पार्टी सभापति तामाङलाई कारबाही गरी समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । अन्यथा कार्यसमितिका पदाधिकारी र सदस्यले अप्रिय निर्णय लिने उहाँहरूले चेतावनी दिनुभएको छ ।
उहाँहरू लगायतले यस अघि पनि सभापति पार्टी विधान अनुसार नचलेको, पार्टी जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई बारम्बार अपमान र दुर्व्यवहार गर्ने गरेको, आफू खुसी मनलाग्दी रूपमा एकलौटी निर्णय गर्ने गरेको लगायतका आरोप लगाउँदै उहाँलाई बर्खास्त गर्न केन्द्रीय सभापति समक्ष ज्ञापन पत्र बुझाउनुभएको थियो ।
पार्टी जिल्ला कार्यसमितिको गत साउन ३ गतेको बैठकबाट सभापति तामाङ पूर्णपुरमा अल्पमतमा परेका पुष्टि भइसकेको असन्तुष्ट दाबी छ । पार्टीको बैठकमा पार्टी सभापतिको कार्यशैली अलोकतान्त्रिक, अराजनीतिक र अराजक भावनाबाट ओतप्रोत भएको कारण निर्वाचित कार्यसमितिका सदस्यले सभापतिको निर्णयप्रति असहमति जनाउँदै आएको उहाँहरूको भनाइ छ । पटक पटक पार्टी सभापतिलाई विधान अनुरूप चल्न अनुरोध गर्दागर्दै पनि केही राजनीतिक स्वार्थीहरूको स्वार्थ सिद्ध हुने गरी पार्टीलाई अवैधानिक र अलोकतान्त्रिक तरीकाले सञ्चालन गरेकाले पार्टी सभापतिको यो चरम स्वेच्छाचारी निर्णयप्रति आफूहरूको असहमति रहेको उहाँहरूले बताउनुभएको छ ।
पार्टी सभापतिले आफ्नो अनुकूल निर्णय गर्नको निम्ति स्थानीय तह निर्वाचनमा संसदीय बोर्ड नै गठन नगरी मनोमानी र एकलौटी ढंगले टिकट वितरण गरेको, कार्यपालिका सदस्य तथा जिल्ला समन्वय समितिको टिकट कार्यसमितिको बैठकमा जानकारी नै नदिई आफू निकटस्थलाई वितरण गरेको, लिखु तामाकोसी गाउँपालिकामा उपाध्यक्षको टिकट पार्टी सदस्य नै नरहेकी नेकपा एमालेबाट २०७४ सालमा निर्वाचित गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काकी श्रीमती सरस्वती गुरुङ खड्कालाई आर्थिक चलखेलका कारण दिएको, पार्टी केन्द्रीय नीति निर्देशन विपरीत जिल्लामा गठबन्धन नगरी आफ्ना आसेपासेलाई मनोमानी ढंगले टिकट वितरण गरेको आरोप उहाँहरूको छ । जसले गर्दा जनमत नेपाली काँग्रेस पक्षमा हुँदाहुँदै पनि कतिपय परिणाम राम्रो नआएको उहाँहरूको ठहर छ ।
सभापतिले महाधिवेशन प्रतिनिधि युवराज भट्टराईले दिँदै नदिएको राजीनामा दिएको भनि केन्द्रलाई सिफारिस गरेको तथा जिल्ला कार्यसमितिका निर्वाचित सदस्य घननारायण श्रेष्ठको जिल्ला कार्यसमितिको पूर्ण बैठक तथा पदाधिकारीको बैठक नबसी अनाधिकृत रूपमा राजीनामा स्वीकृत गरेको आरोप पनि उहाँहरूको छ । त्यस्तै विधि विधान विपरीत पार्टीको लेटर प्याड प्रयोग गरी शुभेच्छुक संस्था प्रेस युनियनका जिल्ला अध्यक्षलाई कारबाही गरी केन्द्रीय सभापतिलाई पत्राचार गरेको, स्थानीय तहको निर्वाचनको परिणामलाई लिएर जिल्लाका नेता तथा कार्यकर्तालाई प्रमाण बेगर पूर्वाग्रही ढंगले अन्तर्घात गरेको भन्दै कारबाहीको दुहाइ दिई अपमान गरेको उहाँहरूको भनाइ छ ।
सभापतिको क्रियाकलापप्रति असन्तुष्ट जनाई ज्ञापन पत्र बुझाउने जिल्ला पार्टी पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश कार्यसमिति सदस्य, प्रदेश अधिवेशन प्रतिनिधिलाई विभिन्न माध्यम प्रयोग गरी गालीगलौज गर्दै राजीनामा माग गर्ने गरेको उहाँहरूले बताउनुभएको छ ।