रामेछाप । जिल्लाको मन्थली नगरपालिका–३ कठजोर स्थित पुरानागाउँ रित्तिन थालेको छ । जिल्ला सदरमुकाम मन्थलीबाट लगभग १४ किलोमिटर दूरीमा रहेको यो गाउँका मानिस खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी र अन्य भौतिक सुविधा नभएको भन्दै सुगम ठाउँ सदरमुकाम मन्थली र राजधानी काठमाडौंमा स्थानान्तरण भएका छन् ।
गाउँ छाड्ने क्रम बढेपछि बरुवाल, सुवेदी, बस्नेत, खड्का, गिरी जातिको बसोबास रहेको पुरानागाउँको बस्ती नै रित्तो हुँदै गएको छ । यो गाउँमा ४० देखि ५० घरपरिवारको बसोबास थियो । अहिले एक तिहाइ घरपरिवारको पनि यहाँ बसोबास छैन । ४० देखि ५० घरपरिवारको बसोबास रहेको पुरानागाउँमा अहिले जम्मा १३ घरपरिवारको बसोबास रहेको स्थानीय कुमार बरुवालले बताउनुभयो ।
गाउँमा खानेपानी, यातायात, रोजगारी र खेतियोग्य जमिन छैन, शिक्षा र स्वास्थ्य सेवा लिन पनि अर्को वडामा धाउनुपर्छ, जसले गर्दा यहाँका मानिसहरू अन्यत्रै गइसके उहाँले भन्नुभयो । उहाँका अनुसार पुरानागाउँमा सडक खनिएको छ तर समयमै मर्मत सम्भार नहुदाँ अहिलेसम्म यातायातका साधन सञ्चालन हुनसकेको छैन ।
२०७२ सालको भूकम्पअघि केही घरपरिवार मात्रै अन्यत्रै गएपनि भूकम्पपछि धेरै घरपरिवारले गाउँ छाडेकाले बस्ती खाली हुने अवस्थामा पुगेको अर्का स्थानीय जनक सुवेदीले बताउनुभयो । कतिले भूकम्पपछि पनि नयाँघर बनाएर ताल्चा मारेर राखेका छन्, गाउँ छाडेर गएकाहरू दशैँ तिहार जस्ता चाड पर्वहरूमा समेत गाउँ आउँदैनन् उहाँले भन्नुभयो । गाउँ छाडेर अन्यत्रै बसेका मानिसहरू चुनावमा भोट हाल्न भने गाउँ आउने गरेको उहाँले बताउनुभयो ।
सुविधा खोज्दै हिँडेका स्थानीयले बसाइँसराई कागजात भने नलगेको मन्थली नगरपालिका–३ का वडा अध्यक्ष कृष्णगोपाल थापाले बताउनुभयो । गाउँगाउँमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिजुली, पूर्वाधारको विकास राम्रै छ तर अझै पनि गाउँलेलाई घरगाउँमा फर्काउन कठिन भएको छ उहाँले भन्नुभयो ।
पुरानागाउँका अधिकांश नागरिकको रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिका–१ को सानीमदौ लगायतका स्थानमा घर खेत भएकाले पनि धेरै मानिस वर्षमा दुईदेखि तीन महिना गाउँ बस्ने गरेको उहाँले दाबी गर्नुभयो ।
यहाँका बालबालिकालाई पढ्नका लागि गाउँमै विद्यालय नभएपनि मन्थली नगरपालिका–२ मा रहेको निलकण्ठेश्वर मावि र स्वास्थ्य सेवा लिन कठजोर स्वास्थ्य चौकीमा पैदल १५ मिनेट हिँड्दा पुगिने उहाँले बताउनुभयो ।
सुगमको बसोबासले गाउँ रित्तिदै
- प्रकाशित मिति: सोमबार, साउन ३० २०७९
- तामाकोशी