रामेछाप । खानेपानीको समस्याबाट हैरान भएका रामेछापको मन्थली नगरपालिका–८ चिसापानीको स्थानीयले अब सस्तो महसुलमा नै खानेपानी उपभोग गर्न पाउने भएका छन् । सो स्थानका उपभोक्ताले अब मासिक २ सय रुपैँयामा नै खानेपानी उपभोग गर्न पाउने भएका हुन् । सो चिसापानी सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नव निर्मित भवन उद्घाटन कार्यक्रममा वडाध्यक्ष गोपाल श्रेष्ठले उपभोक्ताले २ सय रुपैँयामा नै पानी उपभोग गर्न पाउने घोषणा गर्नुभयो । संविधानले खानेपानीको अधिकारलाई मौलिक अधिकारको रूपमा व्यवस्था गरेको बताउँदै श्रेष्ठले वडावासीलाई सर्वसुलभ रूपमा खानेपानीको व्यवस्था मिलाउने बताउनुभयो । उहाँले वडा कार्यालयले स्रोत व्यवस्थापन गरेर भए पनि सस्तो न्यूनतम मूल्यमा खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस अघि सो उपभोक्ता समितिले प्रतिधारा न्यूनतम शुल्क ४ सय रुपैँया लिँदै आएको थियो ।
भवनको उद्घाटन गर्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सो गाउँको लिफ्ट खानेपानी योजनाको लागि धेरै मासिनको पसिना बगेको बताउँदै योजनालाई दिगो बनाउन समुदायले ध्यान दिनुपर्ने बताउनुभयो । स्थानीय समुदायलाई स्थानीय सरकारले पनि आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो । मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले पानी जीवन भएकोले यसको समुचित वितरणमा ध्यान दिनुपर्ने बताउनुभयो । मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले खानेपानीको पाइप मापदण्ड अनुसार पुरेर घर घर र्पुयाउन सके दिगो हुने सुझाव दिनुभयो । खानेपानी उपभोक्ता समितिका अध्यक्ष जनकदास श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा वडा सदस्य सुनकाजी आले मगर, सिर्जनशील युवा समाजका अध्यक्ष भुवन कुमार श्रेष्ठ, जग्गा दाता विश्वकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो । तामाकोसी नदीबाट लिफ्ट गरेर लगिएको सो खानेपानी अहिले चिसापानीका २ सय ८९ घरले उपभोग गरिरहेका छन् । गाउँमा खानेपानीको साना मुहान सुकेपछि स्थानीयले पानीको समस्या भोगेका थिए । खानेपानीको समस्या समाधानको लागि तामाकोसीको पानी लिफ्ट गरेर तानी गाउँमा र्पुयाइएको छ । १४ वडा रहेको मन्थली नगरपालिकाका अधिकांस वडा सुख्खाग्रस्त छन् । तामाकोसी नजिक रहेका वडाबासिले लिफ्ट मार्फत तानिएको पानी प्रयोग गरिरहेका छन् । नगरभित्रका सवै नागरिकलाई सहज रुपमा खानेपानी पुर्याउन नगरपालिकाले लिफ्ट मार्फत पानी तान्ने र भएका पानीको मुहान संरक्षण गर्ने योजनालाई अघिसारेको छ ।