गुणस्तरहीन काम गरेको भन्दै चण्डिडाँडा–बाँकीमैरी–थाक्लेडाँडा–साँघुटार सडकमा स्थानीयको अवरोध

  • प्रकाशित मिति: शुक्रबार, साउन १३ २०७९
  • तामाकोशी

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारमा निर्माणधिन चण्डिडाँडा–बाँकीमैरी–थाक्लेडाँडा–साँघुटार सडकको काममा स्थानीयले अवरोध गरेका छन् । ठेक्का पाएको नौलो सफल बिहानी निर्माण सेवा प्रालि मन्थली नगरपालिका वडा १ रामेछापले प्राविधिक स्टमेट विपरित मनलाग्दी ढङ्गले कमसल काम गरेको भन्दै स्थानीयले सडकको काममा अवरोध गरेका हुन् ।
सडकमा सोलिङ, वाल, तथा नाला बनाउने काम गुणस्तरहीन भएकाmे आफुहरुले सडकको काममा अवरोध गरेको स्थानीय पदमकुमार प्रधानले बताउनुभयो । सडकमा गुणस्तरहीन काम मात्रै नभएर ठेकेदारले प्राविधिक स्टमेट विपरित आफुखुसी रुपमा काम गरिरहेको अर्का स्थानीय हरिबहादुर प्रधानले बताउनुभयो । प्राविधिक स्टमेट अनुसार जाली राख्नुपर्ने ठाउँमा राखिएको छैन, ढलान हुनुपर्ने ठाउँ ढलान छैन, ठेकेदारले प्राविधिक स्टमेट र स्थानीयको आवश्यकता विपरित काम गरिरहेको उहाँले बताउनुभयो । स्थानीयले भने जस्तो आफुहरुले गरेको काम गुणस्तरहीन नभएको नौलो सफल बिहानी निर्माण सेवा प्रालिका साइड इन्जार्च केशव बोहराले बताउनुभयो । ढलान गर्ने ठाउँमा गरिएको सोलिङ र केही ठाउँको नालामा केही समस्या देखिएको छ, समस्या देखिएका ठाउँमा फेरी काम हुन्छ उहाँले भन्नुभयो । निर्माण कम्पनीले ढिला काम सुरु गरेको र सार्वजनिक खरिद नियमावलीको १२ औं संसोधन अनुसार काम पूरा गर्नका लागि केही समय सम्झौता म्याद थप गरिएको रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादेले बताउनुभयो । प्राविधिक स्टमेट अनुसार काम भएको वा नभएको भन्ने बिषयमा प्राविधिक टोली सहित आफु पनि स्थलगत निरीक्षणमा जाने उहाँले बताउनुभयो । प्राविधिक स्टमेट र सम्झौता अनुसार काम नभएको पाइएमा आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइने उहाँले बताउनुभयो ।
यो सडक बागमती प्रदेश सरकारको समपुरक कोष अन्र्तगत प्रदेशको ७५ लाख र रामेछाप नगरपालिकाको ७५ लाख गरी एक रोड ५० लाख रुपियाँको टेण्डर आह्वान भएको थियो । तर घटिघटाउ प्रणाली मार्फत नौलो सफल बिहानी निर्माण सेवा प्रालीले ७२ लाख १७ हजार २०० रुपैयाँमा गत आर्थिक वर्षमै काम सक्ने गरी ठिक्का लिएको थियो । पाँच किलोमिटर सडक फाराकिलो पार्ने, नाला बनाउने, ग्यावियन जाली भर्ने, आवश्यक स्थानमा हिम पाइप राख्ने, ५५ मिटर ढलान गर्ने र पाँचसय मिटर ग्रावेल लगायतको काम गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।