रामेछापमा ३७ करोड रुपियाँ बढी बेरुजु(कुुन पालिकामा कति?)

  • प्रकाशित मिति: शनिबार, असार ३२ २०७९
  • तामाकोशी

रामेछाप । जिल्लामा आर्थिक वर्ष २०७७÷०७८ मा ३७ करोड रुपियाँ बढी बेरुजु आएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ५९ औँ लेखापरीक्षणको प्रतिवेदनमा जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकाको ३७ करोड तीन लाख ५० हजार रुपियाँ बेरुजु आएको हो । जिल्लाका आठ स्थानीय तहको दश अर्व ९५ करोड २५ लाख ९४ हजार रुपियाँको लेखापरीक्षण गर्दा २९.२ प्रतिशत बेरुजु देखिएको हो ।महालेखापरीक्षकको ५८ औँ लेखापरीक्षणको प्रतिवेदनमा जिल्लाका सात स्थानीय तहको नौं अर्व १७ करोड ७३ लाख ३२ हजार रुपियाँ लेखापरीक्षण हुँदा १८ करोड ३७ लाख ९७ हजार (१६.४ प्रतिशत) बेरुजु देखिएको थियो ।महालेखापरीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन २०७९ अनुसार लेखापरीक्षण भएका र रामेछापका आठ स्थानीय तह मध्ये उमाकुण्ड गाउँपालिकाको सबै भन्दा बढी र सुनापति गाउँपालिकाको सबै भन्दा कम बेरुजु देखिएको छ ।
अघिल्लो वर्ष ९६ करोड ४१ लाख ९९ हजारको लेखापरिक्षण गर्दा पाँच करोड २० लाख ४९ हजार (५.४) प्रतिशत बेरुजु देखिएको उमाकुण्ड गाउँपालिकामा यो वर्ष एक अर्व सात करोड ४१ लाख ४९ हजार रुपियाँको लेखापरीक्षण गर्दा ११ करोड ७३ लाख ६६ हजार (१०.९३ ) प्रतिशत बेरुजु देखिएको छ ।खाँडादेवी गाउँपालिकाको एक अर्ब ५५ करोड २७ लाख ९३ हजार रुपियाँको लेखापरीक्षण हुँदा नौं करोड २८ लाख ९४ हजार रुपियाँ (५.९८) प्रतिशत बेरुजु देखिएको छ । अघिल्लो वर्ष एक अर्ब ३१ करोड ६२ लाख ३६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा पाँच करोड ६७ लाख चार हजार रुपियाँ बेरुजु देखिएको थियो । यस्तै, लिखुतामाकोसी गाउँपालिकाको ९८ करोड २७ लाख २२ हजार रुपियाँको लेखापरीक्षण हुँदा चार करोड १७ लाख ४० हजार रुपियाँ अर्थात (४.२५) प्रतिशत बेरुजु देखिएको छ ।
जिल्लाको गोकुलगङ्गा गाउँपालिकाको एक अर्व २९ करोड ५४ लाख ४२ हजार रुपियाँको लेखापरिक्षण हुँदा चार करोड ४६ लाख ५८ हजार रुपियाँ अर्थात (३.४५) प्रतिशत बेरुजु आएको छ । महालेखाको ५८औँ प्रतिवेदन अनुसार यो गाउँपालिकाको एक अर्व १४ करोड ९२ लाख १८ हजार रुपियाँको लेखापरीक्षण हुँदा ९७ लाख ६२ हजार अर्थात (०.८५) प्रतिशत मात्रै बेरुजु रहेको थियो ।
जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको बेरुजु रकम बढेर १.६५ प्रतिशत पुगेको छ । नगरपालिकाको दुई अर्व सात करोड ६६ लाख ५६ हजार रुपियाँको लेखापरीक्षण हुँदा तीन करोड ४३ लाख ६० हजार अर्थात (१.६५) प्रतशित बेरुजु देखिएको हो । महालेखाको यसअघिको ५८औँ लेखापरीक्षण प्रतिवेदन अनुसार मन्थली नगरपालिकाको एक करोड ८९ लाख ६२ हजार अर्थात (०.९७) प्रतिशत बेरुजु देखिएको थियो ।
दोरम्बा सैलुङ गाउँपालिकाको यो वर्ष बेरुजु रकम घटेको छ । यो गाउँपालिकाको एक अर्व ३२ करोड १० लाख २६ हजार रुपियाँको लेखापरीक्षण गर्दा एक करोड ७४ लाख ३२ हजार अर्थात (१.३२) प्रतिशत रकम बेरुजु देखिएको छ । महालेखाको ५८ औँ लेखापरीक्षणको प्रतिवेदनमा यो गाउँपालिकाको ९३ करोड ८६ लाख ९६ हजार रुपियाँको लेखापरीक्षण हुँदा एक करोड ५४ लाख ८७ हजार रुपियाँ अर्थात (१.०६) प्रतिशत बेरुजु आएको थियो ।

 



रामेछाप नगरपालिकाको एक अर्व ७० करोड ५१ लख ३४ हजार रुपियाँको लेखापरीक्षण गर्दा एक करोड ५१ लख ६० हजार रुपियाँ अर्थात (०.८९) प्रतिशत बेरुजु देखिएको छ । अघिल्लो वर्ष दुई अर्व दुई करोड २६ लाख १४ हजार रुपियाँको लेखापरीक्षण गर्दा ६० लाख ४१ हजार रुपियाँ आर्थत (०.३० प्रतिशत मात्रै बेरुजु देखिएको थियो ।
अघिल्लो वर्ष (२.८९) प्रतिशत बेरुजु आएको सुनापति गाउँपालिकाको यो वर्ष बेरुजु रकम घटेर (०.७२) प्रतिशत मात्रै बेरुजु आएको छ । यस वर्ष महालेखाले ९४ करोड ४६ लाख ७३ हजार रुपियाँको लेखापरिक्षण गर्दा ६७ लाख ८५ हजार अर्थात (०.७२) प्रतिशत मात्रै बेरुजु रकम देखाएको छ ।

KJG-महालेखापरिक्षकको उनन्_साठीऔँ वार्षिक प्रतिवेदन, २०७९