रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाको एउटा सिँचाइ आयोजनामा एउटाले गरेको काममा अर्कैलाई भुक्तानि दिइएको छ । खाँडादेवी गाउँपालिका वडा नम्बर ९ पिङ्खुरीस्थित बँेसीटोल सिँचाई आयोजनामा एउटा समितिले गरेको काम देखाएर किर्ते प्रमाण राखी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मन्थली रामेछापले अर्कै उपभोक्ता समितिलाई दुई पटक गरी २१ लाख ६० हजार रुपियाँ भुक्तानी दिएको हो ।
काम नै नगरी किर्ते कागज बनाएर पैसा निकाल्ने एकीकृत समाजवादी पार्टी रामेछापका सचिवालय सदस्य चूडाबहादुर भण्डारी फरार भएपछि श्रम गर्ने स्थानीय गरिब किसान उपभोक्ताको घर बास उठ्ने अवस्था बनेको छ । खाँडादेवी–९ पिङ्खुरी बेँसीटोलको लेप्से खोला सिँचाइ आयोजनामा एउटा अर्कै उपभोक्ता समितिले गरेको काम देखाएर भण्डारी २१ लाख ६० हजार रुपियाँ भुक्तानी लिई बेपत्ता हुनुभएको छ ।तर सो कुलोको काम गर्ने वास्तविक उपभोक्ता र श्रमिकले भने कामको रकम पाएका छैनन् । यो सिँचाइ आयोजनामा चालु आर्थिक वर्षका लागि गाउँपालिका मार्फत काम हुनेगरी बागमती प्रदेश सरकारबाट २० लाख रुपियाँ बजेट विनियोजन भएको थियो । यो कामका लागि सरोज भण्डारीको अध्यक्षतमा उपभोक्ता समिति बनेको थियो । समितिले गाउँपालिकाले उपलब्ध गराएको स्टमेट र कार्यादेश अनुसार २०७८ पुस महिनाबाट काम सुरु गरेको थियो ।
यही योजनामा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मन्थली मार्फत सम्झौता भएर काम हुने गरी बागमती प्रदेश सरकारको १२ लाख र सङ्घीय सरकारबा २० रुपियाँ गरी ३२ लाख रुपियाँ बजेट विनियोजन भएको थियो । सिँचाइ डिभिजन कार्यालयको बजेटबाट काम गर्न गणेश भण्डारी अध्यक्ष, शेरबहादुर भण्डारी सचिव र चूडाराज भण्डारी कोषाध्यक्ष रहेको उपभोक्ता समिति गठन भएको थियो । तर त्यसको जानकारी कुनै उपभोक्तालाई थिएन ।
कार्यालयले गोप्य रूपमा समिति बनाएको थियो । आफूहरूले तोके अनुसारको काम गरेर भुक्तानी लिन जाँदा सिँचाइबाट त्यही काम देखाएर अर्को उपभोक्ता समितिले पैसा लिएको थाहा पाएपछि गाउँपालिकाले आफूहरूले भुक्तानी पाउनु पर्ने चेक रोकेको उपभोक्ता समितिका अध्यक्ष सरोज भण्डारीले बताउनुभयो । उहाँले काम गरेका श्रमिकको ज्याला तिर्न समेत नसकेको बताउनुभयो ।
आफुहरुले गरेको कामको देखाएर किर्ते हस्ताक्षर र अन्य किर्ते प्रमाणका आधारमा कोषाध्यक्ष चुडाराज भण्डारीलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मन्थली रामेछापले शङ्कास्पद रुपमा श्रमदानसहित २३ लाख रुपियाँको काम गरको मूल्याङ्कन बनाई २०७८ फागुनमा ३ गते र २०७९ जेठ १३ गते गरी २१ लाख ६० हजार रुपियाँ भूक्तानी दिएको रहेछ, अहिले पैसा निकाल्ने मान्छे कसैको सम्पर्कमा छैन, जसले गर्ला जिल्ला सिँचाइ र गाउँपालिकाप्रति उपभोक्ताहरुको आशङ्का बढेको छ उहाँले भन्नुभयो ।
आफूहरूले पुस महिनादेखि काम गरेको पैसा भुक्तानी नपाएको स्थानीय श्रमिकहरूको गुनासो छ । हामीले पुसको ठण्डीमा काम गरेको ज्याला पाएका छानौँ, यो असार भरी पर्खन्छौँ, त्यति बेलासम्म पनि पैसा पाएनौँ भने हामी जे पनि गर्छौ’, स्थानीय धनबहादुर तामाङले भन्नुभयो ।
काम नै नगरी भुक्तानी दिएको भन्ने गुनासो आएपछि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मन्थलीबाट आयोजना स्थलमा अनुगमनमा टोली पुगेको थियो । टोलीमा कार्यालयका इन्जिनियर दिवाकर प्रसाद र राधेश्याम प्रसाद लगायतका व्यक्तिहरु हुनुहुन्थ्यो । २०७९ जेठ १८ गते अनुगमनमा गएको टोलीले उक्त काम पालिकाबाट सम्झौता भै सम्पन्न भएको, जिल्ला सिँचाइ कार्यालयबाट सम्झौता भएको काम नभएको, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा सम्झौता गरेर बनेको गणेश भण्डारी अध्यक्ष, शेरबहादुर भण्डारी सचिव र चुडाराज भण्डारी कोषाध्यक्ष रहेको उपभोक्ता समितिले काम नगरेको र कोषाध्यक्ष चुडराज भण्डारीले अर्को समितिले गरेको कामको फोटो देखाएर दुई पटक गरी रकम भुक्तानी लिएको ठहर गरेको थियो ।
यस्तै खाँडादेवी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष अक्कल बहादुर भण्डारीको अध्यक्षतामा एउटा बैठक बसी अर्कै समितिले गरेको कामलाई आफ्नो समितिले गरेको भन्दै जिल्ला सिँचाइ कार्यालयबाट झुक्याएर भूक्तानी लिने चुडराज भण्डारीलाई कारबाहीको दायरामा ल्याउने निर्णय पनि गरेको थियो ।
काम सरोज भण्डारीको समूहले गरेको भएपनि सिँचाइबाट काम गर्ने गरी सम्झौता गरेको समितिले सरोजकै नेतृत्वमा बनेको उपभोक्ता समितिले गरेको काम देखाएको, फोटो खिचेको र दुई पटक गरी सिँचाइ डिभिजन कार्यालयबाट २१ लाख ६० हजार रुपैयाँ निकालेको खाँडादेवी गाउँपालिका वडा नं ९ पिङ्खुरीका वडा अध्यक्ष अकलबहादुर भण्डारीले बताउनुभयो ।
पैसा निकाल्ने समितिका कोषाध्यक्ष चूडाबहादुर भण्डारी बेपत्ता छ, काम नगर्नेले पैसा झिक्यो, काम गर्नेले पैसा पाएका छैनन्, यो यहाँका गरिबलाई ठुलो मार प¥यो उहाँले भन्नुभयो । अहिले सिँचाइ डिभिजन कार्यालयको प्रमुखको बोली एकाएक फेरिएको छ । यस अघि कार्यालयलाई समेत गुमराहमा राखेर बजेट अनियमितता गर्ने प्रयास भएको बताउने कार्यालय प्रमुख रामनरेश मण्डल अहिले आएर सो काम आफ्नै कार्यालयले बनाएको उपभोक्ता समितिले गरेको बताउनुहुन्छ । गाउँपालिकाका प्राविधिक र गाउँपालिकाले बनाएको उपभोक्ता समितिले काम नै नगरी पैसाँ खान खोजेको आरोप समेत उहाँले लगाउनुभयो । तर कामदारले त पैसा पाएका छैनन् नि भन्ने प्रश्नमा भने उहाँ कोषाध्यक्षले बदमासी गरेर पैसा निकालेर हिँडेको कारण कामदारले पैसा नपाएको बताउनुहुन्छ । त्यो प्रमुख जिल्ला अधिकारीले मिलाउनु होला नि, अख्तियारमा मुद्दा परेको छ क्यारे, आफू पन्छिँदै मण्डलले भन्नुभयो ।
खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछानेले दुई वटा समूह मध्ये कसले काम गरेको हो भन्ने विवाद भएको कारण गाउँपालिकाले काटी सकेको चेक पनि रोकेको बताउनुभयो । विवाद समाधान भएपछि उहाँहरूले रकम पाउने लामिछानेको भनाइ छ । सिँचाइको पैसा लिएर फरार चुडाबहादुर भण्डारी एकीकृत समाजवादीबाट सो वडाको वडाध्यक्ष पदमा चुनाव लडेर पराजित हुनुभएको थियो । पैसा लिएर भाग्ने भण्डारीको खोजीमा सरकारी निकायले कुनै अग्रसरता देखाएको छैन ।