रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं ८ चिसापानीका किसानलाई बाँदर धपाउने बन्दुक उपलब्ध गराएको छ । वडा कार्यालयले किसानलाई ती बन्दुक दिएको हो । बाँदरले किसानले लगाएको बालीमा क्षति पु¥याएको कारण किसानको माग अनुसार बाँदर भगाउने बन्दुक प्रदान गरिएको वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । कृषि ज्ञान केन्द्र रामेछापले ५० प्रतिशत अनुदानमा दिएको ती बन्दुक बाँकी रकम वडा कार्यालयले बेहोरेर किसानलाई निःशुल्क उपलब्ध गराएको श्रेष्ठले बताउनुभयो । उहाँले हाललाई एउटा टोलमा एउटा पुग्ने गरी बन्दुक दिएको बताउँदै त्यसको प्रभावकारिता हेरे थप व्यवस्था मिलाउने बताउनुभयो । निर्वाचनको बेलमा पनि बाँदर नियन्त्रणको लागि प्रयास गर्ने प्रतिबद्धता जनाएको भन्दै सोही प्रतिबद्धता अनुसार बन्दुक उफब्ध गराएको उहाँले बताउनुभयो । राष्ट्रिय अनुसन्धान केन्द्रले उत्पादन गरेका ती बन्दुक मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले किसानलाई हस्तान्तरण गर्नुभयो । बन्दुक हस्तान्तरण गर्दै नगरप्रमुख श्रेष्ठले अहिले बाँदरको समस्या किसानको प्रमुख समस्या भएको बताउनुभयो । ती बन्दुक बाँदर भगाउन प्रभाकारी काम गरेमा नगरपालिकाले थप वडामा पनि त्यसको व्यवस्था मिलाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सिचापानीको तल्लो क्षेत्रका नागरिकलाई बाँदरले धेरै वर्ष अगाडीदेखि दुःख दिदै आएको छ । बाँदर कै कारण यस क्षेत्रका किसानहरुले खेत तथा बारीमा अन्न पात लगाउन नसकेर धेरै खेत तथा बारीहरु बाँझै राख्ने गरेका छन् । यसअघिका स्थानीय सरकारले पनि यो क्षेत्रका किसानका माग अनुसार बाँदर भागाउनका लागि केही रकम बिनियोजन गरी विभिन्न काम गर्दै आएको थियो ।
चिसापानीका किसानलाई बाँदर धपाउने बन्दुक वितरण
- प्रकाशित मिति: शनिबार, असार १८ २०७९
- तामाकोशी