रामेछाप । रामेछापको मन्थली नगरपालिका–२ नं वडा कार्यालयले वडाका ७५ वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा वडाका १ सय ७ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिनुभयो । दोसल्ला सहित इलेक्ट्रिक जग दिएर मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ तथा वडाध्यक्ष कार्कीले सम्मानित गर्नुभएको थियो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले गाउँको विकासको लागि जसले जहाँ जहाँबाट जिते पनि एक ठाउँमा आएर काम गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै वडाध्यक्ष सुरेन्द्र कार्कीले स्थानीय निर्वाचनको बेलामा ज्येष्ठ नागरिकको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे अनुसार नै सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्कीले पहिलो चरणमा ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको जानकारी दिनुभयो । अन्य उमेर समूहका ज्येष्ठ नागरिकलाई पनि बिस्तारै समेट्दै लैजाने उहाँले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकका काम वडाले उहाँहरूका प्रतिनिधि मार्फत वा जनप्रतिनिधि आफैँ घरमा गएर गरिदिने बताउनुभयो । ज्येष्ठ नागरिकलाई वडाले कुनै पनि काममा दुःख नदिने उहाँले प्रष्ट पार्नुभयो । ज्येष्ठ नागरिकको अनुहार हेरेर पनि केही काम गर्न आफूहरूलाई प्रेरणा मिलेको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकलाई सहयोग र सम्मान गर्ने कुरामा वडा कार्यालयले कुनै कन्जुस्याइँ नगर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्थली गरपालिका–२ का १०७ जना ज्येष्ठ नागरिक वडाकार्यालयबाट सम्मानित
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ २७ २०७९
- तामाकोशी