द्वन्द्वमा मारिएका वीरबहादुर तामाङको सालिक अनावरण

  • प्रकाशित मिति: बुधबार, जेष्ठ १८ २०७९
  • तामाकोशी

रामेछाप । माओवादीको सशस्त्र द्वन्द्वमा मारिएका जिल्लाको दोरम्बा सैलुङ गाउँपालिका वडा नं १ डडुवाका वीरबहादुर तामाङको सालिक अनावरण गरिएको छ । भूमिगत अवस्थामा माओवादी कार्यकर्ता तामाङ २०६२ साल चैत २१ गते मारिनुभएको थियो । नेकपा एमाले दोरम्बा गाउँपालिका–१ डडुवाको पहल तथा एमाले वाग्मती प्रदेश सदस्य रत्न गौतमको आर्थिक सहयोगमा डडुवाको देउराली डाँडा (कुखुरे आहाल) मा वीरबहादुरको शालिक स्थापना गरिएको हो । शालिकको मंगलबार एक कार्यक्रम आयोजना गरी एमाले वाग्मती प्रदेश सदस्य तुलप्रसाद कँडेलले अनावरण गर्नुभयो । शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँका छोरा रामबहादुरले १६ वर्ष पछि आफुहरुको भावना सम्बोधन भएकोे बताउनुभयो । शालिक अनावरण गर्दै एमाले वाग्मती प्रदेश सदस्य तुलप्रसाद कँडेलले एमाले जनताको पार्टी भएकोले जनताको भावना सम्बोधन गर्ने बताउनुभयो । एमाले रामेछाप जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठले सहिद कुनै पार्टी, व्यक्ति र भूगोलको हुँदैन भनेर एमालेले प्रमाणित गरिदिएको बताउनुभयो । एमाले वाग्मती प्रदेश सदस्य एवं दोरम्बा गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार टंक चौलागाईंले परिवर्तनको आन्दोलनमा जनताबाट भए पनि सहभागी हुनेलाई नेकपा एमालेले सम्मान गर्ने बताउनुभयो । कार्यक्रममा एमाले रामेछापका उपसचिव प्रकाश कार्की, नेकपा एमाले दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष तथा नव निर्वाचित दोरम्बा शैलुङ–१ डढुवाका वडाध्यक्ष प्रेम लामा, गाउँपालिकामा एमालेको तर्फबाट उपाध्यक्षको उम्मेदवार बन्नुभएकी मुना कँडेल थापामगर, मन्थली नगरपालिका–१४ का वडाध्यक्ष मोतिलाल तामाङ, खाँडादेवी गाउँपालिका– ७ र ८ का वडाध्यक्ष क्रमशः सिरे तामाङ र जंगलाल तामाङ, दोरम्बा शैलुङ–१ का वडा सदस्य मंगले थामी, एमाले युवा नेता दावासंबु शेर्पा लगायतले बोल्नु भएको थियो ।