यसअघिका जनप्रतिनिधिले सुरु गरेका विकासको मन्दिरमा गजुर राख्ने काम गछौँ : अध्यक्ष श्रेष्ठ

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ १० २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाका निवर्तमान जनप्रतिनिधि औपचारिक रूपमा बिदा हुनुभएको छ । गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी उहाँहरूलाई बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा बोल्दै निवर्तमान जनप्रतिनिधिले आफूहरूले गाउँपालिका र वडाको जग बसाइदिएकोले सोही जगमा टेकेर अघि बढ्न आग्रह गर्नुभयो । नवनिर्वाचित जनप्रतिनिधिले विगतमा भएका कामलाई नै टेकेर अघि बढ्ने बताउनुभयो । उहाँहरुले विगतका कामलाई निरन्तरता दिँदै थप नयाँ काम अगाडि बढाउने बताउनुभयो । कार्यक्रममा बोल्दै निवर्तमान गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले सक्षम नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रमका बोल्दै निवर्तमान गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले आफूहरूले सुरु गरेका बाँकी काम पूरा गर्न आग्रह गर्नुभयो । सो क्रममा वडा नं १ का निवर्तमान वडाध्यक्ष विष्णु श्रेष्ठ, ४ का धनबहादुर मानन्धर, ५ का तुलसीदास श्रेष्ठ, ६ का पुष्कर कार्की, ७ का असलसिं तामाङ र ९ की चिनीमाया तामाङले पनि आफूहरूले विवेकले भ्याएसम्म काम गरेको बताउँदै नयाँ आउने जनप्रतिनिधिलाई नागरिकको हितमा थप काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नव निर्वाचित गाउँपालिका उपाध्यक्ष रमा घिसिङले निवर्तमान जनप्रतिनिधिको सिकाई र अनुभवलाई समेटेर आफूहरू अघि बढ्ने बताउनुभयो । नवनिर्वाचित गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफूहरू निवर्तमान जनप्रविधिको उत्तराधिकारी भएको बताउनुभयो । उहाँले निवर्तमान जनप्रतिनिधिले सुरु गरेका विकासका मन्दिरमा आफूहरूले गजुर राख्ने काम गर्ने बताउनुभयो । वाग्मती प्रदेश सभा सदस्य, पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवं एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले निर्वाचन जितेका मात्र होइन पराजित भएकासँग पनि सल्लाह र समन्वय गरी काम गर्न सुझाव दिनुभयो ।