रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कार्यकर्तामाथि नेपाली काँग्रेसबाट मन्थली नगरपालिका वडा नं ९ को वडाध्यक्षका प्रत्याशी बुद्धिबहादुर पुलामी मगर (भरत)को निर्देशनमा काँग्रेस कार्यकर्ताले आक्रमण गरेको प्रति एमालेले आपत्ति जनाएको छ । एमालेबाट उम्मेदवार बनेका गोकर्णराज आरण वडाध्यक्षमा निर्वाचित भएपछि विजयी र्याली सकेको दिन साँझ काँग्रेस कार्यकर्ताले एमालेको वडा कार्यालयमै पुगेर एमालेका कार्यकर्तामाथि गरेको आक्रमणप्रति एमाले पुरानागाउँ वडा कमिटीले विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो । ‘जेठ ५ गते बेलुका ८ बजे हाम्रो पार्टी नेकपा एमालेद्धारा पुरानागाउँको सिम्लेमा आयोजना गरिएको विजय र्यालीमा नेपाली काँग्रेसका पराजित उम्मेदवार तथा पूर्व वडा अध्यक्ष बुद्धिबहादुर पुलामी मगरको नेतृत्वमा दो बहादुर पुलामी, प्रविण गिरी, असिम गिरी, रविन बलम्पाकी, रुपेश पुलामी मगर, यम बहादुर थापामगर लगायतका व्यक्तिहरुले घरेलु हतियारहरु चक्कु, खुकरी, चेन लगायतका साधनहरु प्रयोग गरी गरिएको सांघातिक आक्रमणप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ’ एमालेले भनेको छ । एमाले पुरानागाउँ वडा कमिटीले जेठ ६ गते बेलुका समेत एमालेका कार्यकर्ताहरुलाई धम्क्याउने र डर देखाउने गरिएको जनाएको छ ।
‘आफ्नो हारलाई सहजै स्वीकार गर्न नसकि जनताको अभिमत मार्फत निर्वाचित भएको जनप्रतिनिधि, निजका परिवार र पार्टीका कार्यकर्तामाथि गरिएको यस प्रकारको व्यवहार र सांघातिक आक्रमणले समाजमा आतंक श्रृजना भई जनताको शान्तिपूर्ण तरिकाले बाच्न पाउने नैसर्गिक अधिकार र जननिर्वाचित जनप्रतिनिधि जनताको सेवा गर्ने वातावरणमाथि खलल पुग्न गई समाजमा त्रासको वातावरण श्रृजना भएको छ’ एमालेले भनेको छ । एमाले वडा कमिटी अध्यक्ष प्रमोद कुमार श्रेष्ठ र सचिव राजन बुढाथोकीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा काँग्रेस कार्यकर्ताको आक्रमणबाट घाइते भएका एमाले कार्यकर्ताहरु गौतम आरण, उत्तम राज आरण, नारायण आरण, शम्भु आरण र ओम प्रकाश आरणको स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।
