एमाले रामेछापद्धारा स्वतन्त्र उम्मेदवारी दिने जिल्ला कमिटी सदस्यलाई कारबाही

  • प्रकाशित मिति: शुक्रबार, बैशाख २३ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापले पार्टीबाट स्वतन्त्र उम्मदवारी दिनेलाई कारबाही गरेको छ । एमाले रामेछापले पार्टीको निर्देशन विपरीत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने जिल्ला कमिटी सदस्यलाई कारबाही गरेको हो । एमाले रामेछापले शुक्रबार विज्ञप्ति जारी गरी मन्थली नगरपालिका वडा नं १३ को वडा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने पार्टी जिल्ला कमिटी सदस्य भगवती चौहान र जिल्ला सल्लाहकार कृष्ण पौडेललाई कारबाही गरेको जनाएको छ । पार्टी निर्णय विरुद्ध स्वतन्त्र तथा बागी उम्मेदवारी दिएर पार्टी निर्णयको अवज्ञा गरी आन्दोलनलाई क्षति पुर्याउने र पार्टीलाई धोका दिने काम गरेकाले जिल्ला कमिटी सदस्य भगवती चौहान र जिल्ला सल्लाहकार परिषद् सदस्य कृष्ण पौडेललाई पार्टीको विधान अनुसार आजकै मिति देखी लागु हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीका सबै जिम्मेवारीबाट निष्कासन गरिएको ब्यहोरा यस विज्ञप्ति मार्फत जानकारी गराइन्छ’, पार्टी अध्यक्ष आनन्द श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । एमाले रामेछापले पार्टी पङ्क्तिलाई कुनै पनि भ्रममा नपरी पार्टीका आधिकारिक उम्मेदवारको विजय सुनिश्चित गर्ने अभियानमा एकताबद्ध भएर जुट्न निर्देशन समेत दिएको छ ।