चुनावमा नखट्ने शिक्षकको चेतावनी, स्वाभिमान र मान सम्मानमा आँच आउने गरी जिम्मेवारी तोकिएको आरोप

  • प्रकाशित मिति: बिहिबार, बैशाख २२ २०७९
  • तामाकोशी

रामेछाप । जिल्लाका शिक्षकहरुले स्थानीय तहको निर्वाचन गराउन आफूहरु नखट्ने चेतावनी दिएका छन् । आफूहरुको स्वाभिमान र मान सम्मानमा आँच आउने गरी जिम्मेवारी तोकिएको भन्दै उनीहरुले निर्वाचन नखट्ने चेतावनी दिएका हुन् । निर्वाचन कार्यालयले चुनावका लागि कर्मचारीको व्यवस्थापन गर्दा शिक्षकहरुको तहगत र श्रेणीगत स्तरलाई वेवास्ता गरिएको शिक्षकका संगठनहरुको गुनासो छ । शिक्षकका विभिन्न संगठनहरुले संयुत्तः ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै शिक्षकहरुको मान सम्मानमा आँच नपुग्ने गरी पुनः अर्को व्यवस्थापन गर्न माग गरेका छन् ।
ध्यानाकर्षण पत्रमा नेपाल रास्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश अध्यक्ष नीरबहादुर कार्की, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष सोमप्रसाद भट्टराई, नेपाल शिक्षक संघकी बागमती प्रदेश अर्थ महासचिव कमला थापा, नेपाल शिक्षक महासंघ रामेछापका जिल्ला सचिव रामकृष्ण श्रेष्ठ, नेपाल रास्ट्रिय शिक्षक संगठन रामेछापका अध्यक्ष केशर बहादुर श्रेष्ठ र नेपाल शिक्षक संघकी कार्यबहाक अध्यक्ष प्रविणा पौडेलले हस्ताक्षर गरेका छन् । दुई नगरपालिका र छ गाउँपालिकाको ६४ वडा रहेको रामेछाप जिल्लामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ९२ मतदान स्थल र २२३ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीले जिल्लाभर मतदान अधिकृत, सहायक मतदना अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी गरी एक हजार ११२ जना कर्मचारी खटाएको छ ।