रामेछाप । नेकपा एमाले रामेछापले स्थानीय तह निर्वाचनको लागि प्रतिबद्धता पत्र बुधबार सार्वजनिक गरेको छ । एमाले रामेछापले विभिन्न १९ वटा विषयमा प्रतिबद्धता जारी गरेको छ । ती विषयमा पार्टीले स्थानीय तहका तात्कालिक र दीर्घकालीन कार्यक्रम अघि सारेको छ । स्थानीय तहको पूर्वाधार विकास र सेवा प्रवाहको लागि स्थानीय तहमा प्रविधियुक्त पूर्वाधार निर्माण गर्ने एमालेले प्रतिबद्धता जाहेर गरेको छ । नागरिकलाई एकीकृत र गुणस्तरीय सेवा प्रवाह गर्ने पार्टीले प्रतिबद्धता जनाएको छ । यसै गरी शिक्षा क्षेत्रको लागि गुणस्तरीय भवन, छात्र, छात्रको लागि अलग शौचालय, खानेपानी, कम्प्युटर ल्याब, पुस्तकालयको व्यवस्था मिलाउने एमाले रामेछापले प्रतिबद्धता जनाएको छ । एक गाउँपालिका एक क्याम्पस, प्रत्येक वडामा स्थानीय विशेषतामा आधारित व्यावसायिक शिक्षाको नारा एमाले रामेछापले ल्याएको छ । विद्यालय उमेरका सबै विद्यार्थीलाई विद्यालय ल्याउने र विद्यालय छाडेकाको लागि वैकल्पिक कक्षा सञ्चालन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
स्थानीय तहमा विशेष सहितको अस्पताल, लक्षित समुदायलाई अनुदान सहित स्वास्थ्य बिमा कार्यक्रम, सुत्केरी हुन अस्पताल जाने महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा लगायतका कार्यक्रम एमालेको स्वास्थ्य र पोषणका विषयमा प्रतिबद्धता पत्रमा उल्लेख छ । स्वच्छ खानेपानीको लागि एक घर एक धारा, खुल्ला दिशामुक्त जिल्ला, एक वडा एक सार्वजनिक शौचालय लगायतका अवधारणा एमालेले ल्याएको छ । पालिकोको केन्द्रसम्म जोड्ने सबै सडक कालोपत्रे गर्ने, महत्त्वपूर्ण पर्यटकीय तथा धार्मिक स्थलसम्म सडक पु¥याउने सडक पूर्वाधार शीर्षकमा पार्टीको प्रतिबद्धता रहेको छ । विद्युतीय गर्न बाँकी बस्तीमा विद्युतीय गर्ने, बजार क्षेत्रमा अण्डरग्राउण्ड तारको व्यवस्था मिलाउने, जिल्लामा जलविद्युत उत्पादनको सम्भावना रहेका क्षेत्रमा विद्युत् आयोजना सुरु गर्ने वातावरण बनाउने, महत्पूर्ण सडक र सार्वजनिक स्थलमा सौर्य ऊर्जाको प्रयोग मार्फत स्मार्ट विद्युतीय गर्ने एमालेको प्रतिबद्धता रहेको छ । सिँचाई सुविधा नपुगेको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरी सिँचाई सुविधा पु¥याउने, पानीका स्रोत र जलाधार संरक्षणको लागि आवश्यक नीति बनाई कार्यान्वयन गराउने, नदी तटीय क्षेत्रमा तटबन्धको व्यवस्था मिलाउने पार्टीले प्रतिबद्धता व्यक्त गरेको छ । कृषि र पशुपन्छीको लागि उत्पादन पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम सञ्चालन गर्ने, कृषक परिचयपत्र जारी गरी सहयोग गर्ने, बाली र पशु बिमा कार्यक्रमलाई प्रभाकारी रूपमा सञ्चालन गर्ने एमालेको प्रतिबद्धता रहेको छ । पालिका केन्द्रमा व्यवस्थित सहर वडा केन्द्रमा व्यवस्थित बजारको अवधारणा एमालेले ल्याएको छ । राजमार्ग आसपासमा नयाँ सहरी बस्ती विकासको योजना पनि सो पार्टीले लिएको छ । भूमि व्यवस्थापन, सहरी तथा बस्ती विकास कार्यक्रम अन्तर्गत भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गर्ने, नापी र मालपोतको काम स्थानीय तहबाट नै गर्ने, सार्वजनिक सम्पत्तिको रक्षा गर्ने प्रतिबद्धता एमालेले जनाएको छ । एक स्थानीय तह एक पर्यटन गन्तव्यको नीति अवलम्बन गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । पर्यटन क्षेत्रको विकासमा सार्वजनिक–निजी साझेदारीको नीति अवलम्बन गरिने उल्लेख छ । स्थानीय स्तरमा रहेका, कला, संस्कार र संस्कृतिको संरक्षण तथा पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गर्ने एमालेले प्रतिबद्धता जनाएको छ । खेल क्षेत्रको विकासको लागि एक वडा एक खेल मैदान, एक पालिका एक बहुउद्देश्यीय कवर्ड हल निर्माण गर्ने एमालेले घोषणा गरेको छ । युवा उद्यमशीलता विकास, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई आर्थिक विकासमा संलग्न गराउने प्रतिबद्धता एमालेले जनाएको छ । लक्षित समुदायको संरक्षणलाई सामाजिक सुरक्षा कार्यक्रमको प्राथमिकतामा राखिएको छ । लक्षित समुदायको लागि घर दैलोमा डाक्टर, घर घरमै उपचार कार्यक्रम सञ्चालन गर्ने एमालेले घोषणा गरेको छ । वन वातावरण र विपद् जोखिम व्यवस्थापनको लागि वातावरण मैत्री स्थानीय शासन प्रारूप अनुसार अघि बढ्ने एमाले रामेछापले घोषणा गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति कार्यक्रम अन्तर्गत एक स्थानीय तह, एक औद्योगिक ग्रामको गुरु योजना तयार गरी कार्यान्वयन गर्ने पार्टीले घोषणा गरेको छ । बजार अनुगमनलाई प्रभावकारी बनाउने एमालेले जनाएको छ । सामाजिक संघ संस्थालाई विकासको साझेदारको रूपमा लिने नीति पार्टीको रहेको छ । सामाजिक संस्थामा रहेको दक्षता र सिप स्थानीय सरकारले अधिक उपयोग गर्ने एमालेले घोषणा गरेको छ । हरेक बैँक र वित्तीय संस्थामा शून्य मौज्दातमा खाता खोल्ने व्यवस्था मिलाउने, निक्षेप सुरक्षा र सहज ऋणको व्यवस्था मिलाउने पार्टीले घोषणा गरेको छ । एमालेका कार्यकर्तालाई उत्पादन सहकारीमा जोड्ने पनि पार्टीले घोषणा गरेको छ । एक स्थानीय तह एक सूचना तथा सञ्चार गृहको अवधारणा एमालेले अघि सारेको छ । सूचना प्रविधिको अधिक उपयोगको वातावरण मिलाउनको लागि सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवाको घोषणा गरिएको छ । सुशासनको लागि आवधिक योजना निर्माण गरी त्यसले निर्दिष्ट गरेको क्षेत्रमा मात्र काम गर्ने एमालेको प्रतिबद्धता छ । सुशासनका औजार प्रयोग गरी भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने नीति लिने एमालेले जनाएको छ । यिनै कामबाट रामेछापलाई समृद्ध बनाउन सकिने एमालेले जनाएको छ । ‘आफ्नो भविष्य निर्माण आफैँ गर्न लामबद्ध हुनुभएका मतदाताले अन्धकार तर्फ होइन, उज्ज्वल भविष्य सुनिश्चित गर्ने समाजवादको बाटो रोज्नु हुने छ भन्ने कुरामा नेकपा एमाले विश्वस्त छ’, प्रतिबद्धता पत्रमा उल्लेख छ ।
एमाले रामेछापको प्रतिबद्धता : प्रविधियुक्त पूर्वाधार निर्माण , नागरिकलाई एकीकृत र गुणस्तरीय सेवा
- प्रकाशित मिति: बुधबार, बैशाख २१ २०७९
- तामाकोशी