एमालेसँग एक्लै चुनाव लड्ने तागत अब कुनै पार्टीसँग छैन : कैलाश ढुङ्गेल

  • प्रकाशित मिति: बुधबार, चैत्र ३० २०७८
  • तामाकोशी

रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कैलाशप्रसाद ढुङ्गेलले एमालेसँग एक्लै चुनाव लड्ने तागत अब कुनै पार्टीसँग नभएको बताउनुभएको छ । नेकपा एमाले मन्थली नगर कमिटी रामेछापको चौथो पूर्ण बैठकलाई बुधबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । एमालेलाई एक्लै हराउने आँट नभएकै कारण एमाले बाहेकका दल गठबन्धन गरेर चुनावमा आएका उहाँले बताउनुभयो । एमाले विरुद्ध लाग्ने सबै शक्ति आउने निर्वाचनबाट समाप्त हुने उहाँले बताउनुभयो । पार्टीमा आगो लगाएर खरानी बनाएर जानेले देश र जनताको पक्षमा काम गर्न नसक्ने उहाँले बताउनुभयो । यस्तो धोका धडी अब एमालेले दोहोरिन नदिने उहाँले प्रष्ट पार्नुभयो । त्यसैले यो निर्वाचनमा माओवादीसँग तालमेल हुन नसक्ने उहाँले बताउनुभयो । एमालेले हारे सुखी नेपाली, समृद्ध नेपालको सपना मर्ने उहाँले बताउनुभयो । देशको प्रगति हुने भयो भने प्रगति विरुद्ध पाँच दल एक भएको उहाँको भनाइ छ । शेरबहादुर देउवाको दौरा समातेर कम्युनिष्ट आन्दोलन जोगाउँछौँ भन्दै गएकाहरू अहिले आफन्त नातागोतालाई जागिर खुवाउन लागेका उहाँले बताउनुभयो । उनीहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसक्ने उहाँले दाबी गर्नुभयो ।