स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुनसक्छ : कमल थापा

  • प्रकाशित मिति: सोमबार, चैत्र २१ २०७८
  • तामाकोशी

रामेछाप । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धने हुनसक्ने बताउनुभएको छ । सोमबार राप्रपा नेपाल जिल्ला कार्यसमिति रामेछापको अगुवा कार्यकर्ता भेलापछिको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यस्तो बताउनुभएको हो । यो स्थानीय निर्वाचनमा जुनसुकै राजनीतिक शक्तिसँग सहकार्य गर्न सक्ने गरी राप्रपा नेपालको ढोका खुल्ला छ, तर अहिले मुख्यगरी नेकपा एमालेसँग सहकार्य गरेर जानेबारेमा कुराकानी भैरहेको छ अध्यक्ष थापाले भन्नुभयो । भर्खरै राप्रपा नेपाल पुनर्जागृत भएकाले यो स्थानीय निर्वाचनमा धेरै ठुलो महत्वकांक्षा नराखी सम्मानजनक उपस्थिति कायम गर्ने गरी मुख्य ध्यान आगामी संसदिय निर्वाचनमा केन्द्रीत रहेको अध्यक्ष थापाको भनाइ छ । उहाँले आगामी संसदिय निर्वाचनपछि राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने गरी लाग्ने बताउनुभयो । अध्यक्ष थापाले १५ वर्षको राजनीतिक अभ्यास, देशको धरातलिय अवस्था र आम जनभावनालाई दृष्ट्रिगत गर्दै अब राप्रपा नेपालले राजसंस्थाको पुर्नस्थापनाको एजेण्डालाई कार्यनीतिको रुपमा नलिएको बताउनुभयो । राप्रपा नेपालले लोकतन्त्र,राष्ट्रियता र हिन्दु राष्ट्रको मान्यतामा आधारित संवद्र्धन बादको दर्शनलाई बोकेर अगाडी बढ्ने उहाँको भनाई छ । राजसंस्थाप्रति राप्रपा नेपालको सम्मान सदैव रहने बताउदै अध्यक्ष थापाले अहिलेको धरातलिय अवस्था जनताको चाहाना र स्वयम राजसंस्थाको पनि विगत १५ वर्षदेखिको गतिविधिलाई हेर्दा अब नेपालमा राजसंस्था पुनःस्थापनाको सम्भावना समाप्त भएको बताउनुभयो । सम्भावना समाप्त र असम्भव भैसकेको एजेण्डालाई बोकेर हिड्दा पार्टीको अन्य मान्यताहरु पनि कमजोर हुनसक्ने तर्फ राप्रपा नेपाल सचेत रहेको उहाँले बताउनुभयो ।