रामेछाप । स्थानीय तह निर्वाचनको मिति नजिकएसँगै रामेछापका राजनीतिक दलहरु घोषित र अघोषित रुपमा चुनावी अभियानमा होमिएका छन् । २०७४ सालमा भएको निर्वाचनमा ५ पालिकामा प्रमुख र ४ पालिकामा उप–प्रमुखसहित बहुमत वडा जितेर एमाले ठूलो दल बनेको थियो । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको मेयरमा एमालेबाट उम्मेदवार बनेका रमेश बस्नेत विजयी भएका थिए । उनी अहिले एमालेबाट विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादीको जिल्ला अध्यक्ष छन् । उनीसँगै एक वडाध्यक्षबाहेक अरु जनप्रतिनिधि एमालेमै छन् । पछिल्लो समय एमाले रामेछापका निवर्तमान उपसचिव झम्क कँडेल लगायतका केही नेता नेकपा एसमा लागेका छन् । तर, उनीहरुको जनमत शून्य प्राय रहेको एमाले रामेछापका नेताहरुको दाबी छ ।
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका रामेछापका जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुंगेल यसअघि निर्वाचन जितेका ५ स्थानीय तहमा चुनाव जितिँदैन कि भन्ने कल्पना पार्टीले नगरेको बताउँछन् । ‘यसअघि हामीले चुनाव जितेका ५ पालिकामा चुनाव हार्ने कुरै आउँदैन, हारिन्छ कि भन्ने कल्पना नै गरिँदैन’ उनले एमालेको जिल्ला अधिवेशन उद्घाटनका क्रममा भनेका थिए, ‘बाँकी रहेका पालिकामध्ये रामेछाप नगरपालिकामा त हामी त्यतिबेला पनि जम्माजम्मी सय भोटले पछि परेका हौँ, पुष्पलालको जन्मभूमीमा एमालेले चुनाव हार्ने कुरा यसपटक कल्पनाभन्दा बाहिरको कुरा हो, हामी रामेछाप नगरपालिकामा जसरी पनि चुनाव जित्छौँ, जित्नेवाला छौँ ।’
स्थानीय तहमा पालिका प्रमुख र उपप्रमुखको रुपमा एमालेका जनप्रतिनिधि नरहेपनि रामेछाप नगरको भौतिक विकास, सामाजिक जनजीवनको विकास र अन्य काममा पार्टीले कहिल्यै विभेद नगरेको भन्दै यसपटक रामेछाप नगरपालिकामा एमालेले चुनाव जित्ने पर्याप्त आधार रहेको एमाले रामेछाप नगर कमिटीका अध्यक्ष रोशन पाख्रिन बताउँछन् । उनी एमालेबाट रामेछाप नगरपालिकाको मेयरका एक्ला दाबेदार हुन् । नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य टंक चौलागाई सुनापति बाहेक अरु पालिकामा एमालेले सहजै चुनाव जित्ने बताउँछन् । ‘यसअघि एमालेले जितेका पालिकामा चुनाव हार्ने कुनै कारण छैन, अब पहिला हारेका स्थानीय तहमा जित्ने लक्ष्य हो’ उनले भने, ‘दोरम्बा गाउँपालिकाको कुरा गर्दा अहिले त्यहाँ एमालेको हजारौँ भोट बढेको छ, एमाले नेकपाकै निरन्तरता हो, त्यसकारण माओवादीका कयौँ साथीहरु एमालेमै हुनुहुन्छ, अनि चुनाव कसरी हारिन्छ ? पार्टी प्रवेश त्यस्तै बढेको छ ।’
माओवादीको आधारभूमी मानिने दोरम्बामा माओवादीका नेताको व्यवहारकै कारण एमालेले जित्ने अवस्था सिर्जना भएको भन्दै उनले चाहेर वा नचाहेर यो अवसर सिर्जना गरिदिएकोमा माओवादीलाई धन्यवाद पनि दिए । ‘दोरम्बा त एमालेले जित्छ नै, यति मात्रै होइन, अलिकति होमवर्क गर्यौ भने हामी सुनापति पनि जित्ने अवस्थामा छौँ’ उनले भने, ‘त्यहाँका हजारौँ माओवादीका कार्यकर्ता एमाले प्रवेशको लहर नै चलेको छ, एमालेले त्यो क्षेत्रका नेताहरुलाई जिल्ला कमिटी र अन्य कमिटीहरुमा महत्वपूर्ण जिम्मेवारी दिएको छ ।’ एक नेताका अनुसार अहिले सुनापतिमा एमाले र माओवादीले जित्ने सम्भावना बराबर छ । यो क्षेत्रमा काँग्रेसको उपस्थिती केवल उम्मेदवारी मात्रै भएको र प्रतिस्पर्धा एमाले र माओवादीबीच नै हुने र एमालेले जित्ने सम्भावना प्रवल रहेको सुनापतिका एक नेता बताउँछन् ।
मन्थली नगरपालिकामा एमालेमा पार्टी विभाजनको असर अत्यन्त कम छ । मन्थलीमा एमालेको पछिपछि काँग्रेस छ । गत निर्वाचनको मत परिणामको प्रभाव यसपटक पर्ने अवस्था छैन । किनकी, एमालेबाट निर्वाचित मेयर बस्नेत अर्को पार्टीमा लागेका छन् । ‘एमालेको भोटले उहाँले चुनाव जितेका हुन्, व्यक्तिगत भोट छँदै छैन’ मेयर बस्नेतको गाउँसमेत रहेको मन्थली ४ का एक व्यक्तिले भने, ‘व्यक्तिगत भोट छैन, गत निर्वाचनमा पनि उहाँले सालुबाट यहाँको वडाध्यक्षको जति भोट पाउनु भएन, मेयरमा उठ्दा त आफ्नो गाउँको ८०÷९० प्रतिशत भोट पाउनुपर्ने होइन, खोइ त ?’ मन्थली नगरपालिकाको मेयरमा यसपटक पनि एमालेकै उम्मेदवार विजयी हुने एमाले इतरका स्थानीय नेताहरु नै स्वीकार गर्छन् । नगर कमिटीले चुस्त रुपमा संगठन परिचालन गरिसकेको छ । रामेछाप नगरपालिकामा पनि रोशन पाख्रिनले चुनाव जित्ने प्रवल सम्भावना छ । उमाकुण्ड र गोकुलगङ्गा गाउँपालिकामा एमालेबाट निर्वाचित पालिका अध्यक्षहरु क्रमशः शेरबहादुर सुनुवार र खड्ग सुनुवारको कामको प्रशंसा हुने गरेको छ । खड्ग सुनुवारले कृषि र पर्यटनसहित मझौला उद्योगमार्फत पालिकामा रोजगारी सिर्जनाका लागि काम गरेका छन् । उनीहरुले गरेको कामको प्रभावले ति क्षेत्रमा पनि एमालेको जनमत बढेको छ । त्यसकारण यी २ गाउँपालिकामा एमालेले जसलाई उभ्याएपनि चुनाव जित्ने आधार बनेको एमाले नेताहरुको दाबी छ । लिखुतामाकोशी गाउँपालिकामा यसअघि पनि एमालेले जितेको थियो । तर, पालिका अध्यक्षको हठका कारण लिखुतामाकोशीले ५ वर्ष विवादै विवादमा गुजार्यो । यसको असर निर्वाचनमा पर्ने देखिन्छ । तर, पालिका अध्यक्ष अर्कै पार्टीबाट एमाले प्रवेश गरेर टिकट पाएर चुनाव जितेका व्यक्ति हुन् । उनलाई करिब ३ वर्ष अगाडी नै एमालेले अनुशासनको कारबाही गरिसकेको छ । ‘फ्रेस फेस’ लिएर जाँदा एमालेले लिखु तामाकोशीमा पर्याप्त मतका साथ चुनाव जित्ने नेताहरुको दाबी छ । जिल्लाको खाँडादेवी गाउँपालिकामा त झन एमालेको एकछत्र मत छ । त्यहाँ अरु पार्टीका उम्मेदवारको जमात जफत हुने अवस्था बनिसकेको छ ।
स्थानीय निर्वाचनबारे रामेछाप एमालेको यस्तो छ प्रक्षेपण
- प्रकाशित मिति: बुधबार, चैत्र ९ २०७८
- तामाकोशी