रामेछाप । जिल्लाको रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगरले नगरपालिकाले बनाएको आवधिक रणनीतिक योजना अनुसार काम गर्दा रामेछाप नगरपालिका बागमती प्रदेश कै पहिलो र देश भरको १६ औँ पालिका बनेको बताउनुभएको छ । बुधवार रामेछाप नगरपालिकाको पर्यटन विकासको अवधारण र संभावना विषय अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नगर प्रमुख मगरले विधि,प्रक्रिया र पद्धतिका आधारमा गरिएको कामको मुल्याङ्कन अनुसार रामेछाप नगरपालिका बागमती प्रदेशमा दुई÷दुई पटक पहिलो उत्कृष्ट पालिका बनेको बताउनुभयो । उहाँले रामेछाप नगरपालिका जिल्ला कै ठुलो पर्यटकीय संभावना बोकेको पालिका भएकाले आवश्यक योजनाका साथ पर्यटकीय स्थलहरुको पहिचान गरी त्यसको विकासमा लागेको बताउनुभयो । नगरपालिकामा पर्यटन विकाको लागि पर्याप्त मात्रामा सडक, भ्यूटावर,पैदल मार्ग लगायत पर्यटन पुर्वाधार विकासका कामहरु भईरहेको उहाँको भनाइ छ । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले विधि,प्रकृयालाई अवलम्बन गरी सहमती र सहकार्यमा नगरको विकासमा आफुहरु लागि परेको बताउनुभयो । नगरपालिकाले आधारशिला बनाएर पर्यटनको विकासका लागि आवश्यक काम गरीरहेको उहाँको भनाइ छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले स्थानीय तहले पर्यटन विकासका लागि काम गर्दा सम्बन्धीत निकायहरुसँग समन्वय गर्दा प्रभावकारी हुने सुझाव दिनुभयो । नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशका अध्यक्ष रमेश खतिवडाले झण्डै पाँच वर्षको अवधिमा रामेछाप नगरपालिकाले गरेको कामको आधारमा बागमती प्रदेश कै उत्कृष्ट र देशभरका १६ औं पालिका बनेकोमा खुशी व्यक्त गर्नुभयो । रामेछाप नरपालिकाको सहयोगमा भएको कार्यक्रम नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेको अध्यक्षता र रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो
