यात्रुसँग बढी भाडा लिने सवारीमाथि कारवाही

  • प्रकाशित मिति: मंगलबार, असोज २६ २०७८
  • तामाकोशी

रामेछाप । नेपालीहरुको महान चाड दशैंमा घर आउँनेहरुको घुइँचो छ । विभिन्न शिलशिलाले घरबाहिर रहेकाहरु दशैंमा ठुलाबडाको हातबाट आर्षिवाद थाप्न र परिवारसँग रमाइलो साटासाट गर्न घर आउँछन् । यसरी दशैंमा रामेछाप जिल्लामा पनि धेरै मानिस राजधानी काठमाण्डौं लगायतका विभिन्न स्थानबाट घर आएका छन् । दशैंमा घर आउनेहरुको घुइचो बढेको बेला यात्रुबहाक सवारी साधनहरुले भने मौकाको चौका हानिरहेका छन् । हर्ष र उमङ् बोकेर घर आएका यात्रुहरुसँग सवारी साधनहरुले तोकिए भन्दा बढी भाडा असुलीरहेका छन् । राजधानी काठमाडौंबाट जिल्लाको पुरानो सदरमुकाम रामेछापसम्म चल्ने हाइस गाडीले बढी भाड लिएको पाइएपछि प्रहरीले कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले मन्थली नगरपालिकाको सेलेघाट नाकामा चेकजाँच गर्ने क्रममा बा २ ख ९३५३ नम्बरको हाइसले तोकिए भन्दा दुई सय रुपियाँ बढी भाडा लिएको पाइएको छ । सरकारले काठमाडौंबाट रामेछापडाँडासम्म ६ सय रुपैयाँ भाडा निर्धारण गरेको भएपनि १५ जना यात्रुसँग प्रतिव्यक्ति एक हजार रुपियाँका दरले भाडा लिएको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा बढी भाडा लिएको पाइएको र यात्रुसँग लिएको बढी भाडा फिर्ता गराइएको बताउनुभयो । उहाँका अनुसार नियम विपरीत यात्रुसँग तोकए भन्दा बढी भाडा असुल्ने चालक राजेन्द्र कार्कीलाई दुई हजार रुपियाँ जरिवाना गरिएको छ ।