रामेछाप । मुलुक कोरोना भाइरस कोभिड-१९ सँग लडिरहेको भएपनि रामेछापका स्थानीय तहहरुमा पूर्वाधार विकासका काम सञ्चालन भैरहेका छन् । स्थानीय तहले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाको कार्यान्वयन सँगै आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विकास निर्माणका काम सञ्चालन गरिरहेका हुन् । जिल्लाको खाँडादेवी गाउँपालिकामा अहिले खैरेनीघाट- राकाथुम- गाल्बा- दोरम्बा- शैलुङ जोड्ने सडक कालोपत्र गर्ने काम धमाधम भैरहेको छ । मुलकलाई कोरोना भाइरसले अक्रान्त बनाइरहेको यो अवस्थामा कोरोनसँगको लडाईसँगै विकास निर्माणको काम पनि रोक्न हुन्न भन्ने हेतुले सडक कालोपत्रे गर्ने कार्य भैरहेको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमका वडाध्यक्ष विष्णु कुमार श्रेष्ठले बताउनुभयो । अहिले वाग्मती प्रदेश सरकारको ५० लाख रुपियाँ बजेटबाट अबको एक हप्तामा कामसक्नेगरी चपाडी खण्डको एक सय ८० मिटर सडक कालोपत्रे गर्ने काम भैरहेको वडाध्यक्ष क्षेष्ठले बताउनुभयो । यसअघि सङ्घीय सरकारको दुई करोड ५० लाख रुपियाँ बजेटमा ६ सय ५० मिटर सड कालोपत्र भैसकेको छ । अहिले गाउँपालिकाभित्र पुराना पूर्वाधार निर्माणका काम सञ्चालन भैरहेको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताउनुभयो । गाउँपालिकामा पहिलै थालिएका पुराना सक्न बाँकी विकास निर्माणको कामहरु स्वास्थ्य सुरक्षा सम्बन्धि सावधानी अपनाएर सञ्चालन गरिएको भएपनि नयाँ विकास निर्माणका कामहरु भने ठप्प रहेको अध्यक्ष तामाङले भन्नुभयो । राष्ट्रिय गौरवका आयोजना , राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र जिल्लामा सञ्चालित आयोजनाहरुको सामाग्री ढुवानीका लागि प्रयोगहुने साधनहरु र त्यस्ता आयोजनाहरुमा स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पूणर् रुपमा पालना गरेर काम सञ्चालन गर्नेगरी जिल्लाभर जेठ ९ गते आइतबार राति १२ः०० सम्म निषेधाज्ञा लगाइएको छ ।
खैरेनीघाट- राकाथुम- गाल्बा- दोरम्बा- शैलुङ सडक कालोपत्रे गर्ने कार्य जारी
- प्रकाशित मिति: बुधबार, जेष्ठ ५ २०७८
- तामाकोशी