रामेछाप । फागुन ३ गते ,
देशभर जस्तै रामेछापमा पनि सोमबार नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमका विरुद्ध सदरमुकाम मन्थलीमा विरोध र्याली तथा सभा गरेको हो । विरोधसभामा नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम् श्रम तथा ट्रेड युनियन विभागका प्रमुख शिव हुमागाईले केपी ओलीले संविधान विपरित काम गरेर मुलुक ध्वस्त पार्न खोजेको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीका कार्यशैलीले कम्युनिष्ट सरकारको अधिनायकतावाद चरित्र उदाङ्गो भएको उहाँको भनाई छ । अव कम्युनिष्ट सरकारले सत्ता सञ्चालन गर्ने दिन सकियो , अदालतमा भएको मुद्धाको फैसला पछि मुलुकमा अझ सङ्कट निम्तिन सक्छ उहाँले भन्नुभयो । कांग्रेस रामेछापका पूर्व सभापति रामचन्द्र खड्काले ओली नेतृत्वको र प्रचण्ड नेपाल नेतृत्वको दुवै नेकपा मुलुकलाई थप वर्वादीतिर धकेल्न उद्धत भएको बताउनुभयो । जिल्ला सभापति लवश्री न्योपानेले अव प्रधानमन्त्री केपी शर्मा ओलीको दिन सकिएको बताउनुभयो । यसअघिको विरोध र्याली कार्यक्रममा सहभागि कांग्रेसका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको कदमका विरुद्धमा विभिन्न नारावाजी गरेका थिए ।
