रामेछाप । माघ ३० गते,
रामेछाप नगरपालिका वडा नम्बर ६ स्थित ओखे्रनीमा निर्माण भएको बुद्ध मूर्ति तथा पार्कको उद्धघाटन भएको छ । छोइलिङ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मङ्गल कुमार पाख्रीनको अध्यक्षता शुक्रबार आयोजित एक कार्यक्रमका बीच सोही नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धनबहादुर खड्काले बुद्ध मूर्ति तथा पार्कको उद्धघाटन गर्नुभएको हो । कार्यक्रकमका प्रमुख अतिथिका रुपमा रहनु भएका अध्यक्ष खड्काले शान्तिका अग्रदूत गौतमबुद्धका बारेमा आवश्यक प्रचार गर्नसके शान्ति स्थापनामा थप सहयोग पुग्ने बताउनुभयो । अध्यक्ष खड्काले मुलुकमा हत्या, हिंसा, बलात्कार जस्ता घटनाहरु दिनदिनै बढिरहेका सन्दर्भमा शान्तिका अग्रदूत बुद्धको उपदेशको बारेमा टोल बस्तीसम्म समुचित ढंगले प्रचारप्रसार गर्न सकेको खण्डमा त्यस्ता गतिविधि न्यूनीकरणमा सहयोग पुग्ने धारणा राख्नुभयो । तरकारी र जुनार उत्पादनका हिसाबले मात्र नभई धार्मिक तथा पर्यटन प्रवद्र्धनको हिसाबले पनि ६ नम्बर वडालाई समृद्ध बनाउन आफूहरुले पार्क तथा बुद्धको मूर्ति निर्माणमा विशेष जोड दिइएको उहाँको भनाई छ । गत आर्थिक वर्ष २०७६÷०७७ को वडा कार्यालयको नौ लाख पँचास हजार रुपियाँ र विभिन्न व्यक्ति ताथ संघ संस्थाहरुबाट प्राप्त बजेट सात लाख ५० हजार रुपियाँ गरी कुल १७ लाख रुपियाँ बजेको लागतमा निर्माण भएको सो पार्क उद्धघाटन भएसँगै शुक्रबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छोइलिङ गुम्बा व्यवस्थापन समितिका सचिव दिपक पाख्रिनले बताउनुभयोे । गत आर्थिक वर्षको जेठ महिनामा नै निर्माण सम्पन्न भएको पार्क सञ्चालन गर्न कोरोनाले असर गरेकाले शुक्रबार आफूहरुको विशेष पर्व सोनाम ल्होसारको अवसर पारेर सञ्चालनमा ल्याइएको उहाँको भनाई छ । गुम्बाको कम्पाउण्डभित्रै निर्माण गरिएको पार्कमा शाक्यमुनि नामक गौतमबुद्धको मुर्तिको समेत निर्माण गरिएको छ । उहाँका अनुसार अब गुरु रेम्पर्ची र पद्म सम्मवती गरी दुई वटा मूर्ति बाँकी रहेको आगामी दिनमा आर्थिक स्रोत जुटाएर निर्माण गरिने छ।
