रामेछाप । माघ १९ गते,
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्थारुले प्रतिनिधिसभा विघटनको विरोधमा रामेछापमा पनि प्रदर्शन गरेका छन् । नेवि सङ्घ, नेपाल प्रजातान्त्रिक सेनानी सङ्घ, नेपाल किसान सङ्घ, महिला सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, नेपाल शिक्षक सङ्घ,नेपाल आदिवासी जनजाति सङ्घ, नेपाल तामाङ सङ्घ, नेपाल मगर सङ्घ, नेपाल ठाकुर सङ्घ, नेपाल दलित सङ्घ र राष्ट्रिय लोकतान्त्रिक अपाङ्गता सङ्घ लगायतले सदरमुकाम मन्थलीमा मोटरसाइकलसहित ¥याली निकालेर सोमबार विरोध प्रदर्शन गरेका हुन् । प्रर्दशनमा सहभागी नेता तथा कार्यकर्ताहरुले नेकपाको पाराले दुःख पाए साराले, केपी ओली सरकार मुर्दावाद, विघटित संसद पुनःस्थापना गर लगायतका नाराहरु लगाएका थिए । जिल्ला समन्वय समितिको प्राङ्गणमा नेपाल तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्का दिनेशको अध्यक्षतामा भएको विरोधसभामा १२ वटै सङ्गठनका प्रतिनिधिहरु र जिल्ला नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभाका विघटनको कदमको विरोध गरेको थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु भएको संसद विघटनको कदमले संविधान, लोकतन्त्र र प्राप्त उपलब्धी समेत खतरामा परेको नेताहरुको भनाई छ । प्राप्त उपलब्धी, विधि र पद्धतिको संरक्षण गर्नका निम्ति भए पनि संसद पुनःस्थापन गर्नुपर्ने उनीहरुको जोड थियो । प्रधानमन्त्री ओलीले चालेको कदमको सरकारकै मान्छेले समेत विरोध गर्न थालिसकेकाले हाल विघटित संसद पुनःस्थापनाको पक्षमा सर्वोच्चले समेत फैसला गर्ने कुरामा आफूहरु विश्वस्त रहेको नेताहरुको भनाई थियो ।
