रामेछापको कठजोर र भटौलीमा कांग्रेसको विरोध प्रदर्शन र सभा

  • प्रकाशित मिति: शनिबार, पुष २५ २०७७
  • तामाकोशी

रामेछाप । पुस २५ गते,
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस रामेछापले शनिबार जिल्लाको दुई स्थानमा प्रदर्शन र सभा गरेको छ । कांग्रेसले निर्वाचन क्षेत्र (क) को मन्थली नगरपालिका वडा नं ३ कठजोर ठाटि र निर्वाचन क्षेत्र (ख) को मन्थली नगरपालिका वडा नं ७ भटौलीमा प्रदर्शन र विरोधसभा गरेको हो । निर्वाचन क्षेत्र (क) मा भएको विरोधसभालाई जिल्ला सभापति लवश्री न्यौपाने र निर्वाचन क्षेत्र (ख) मा भएको विरोधसभालाई पूुर्वसभापति रामचन्द्र खड्का लगायतका नेताहरुले सम्वोधन गर्नुभएको छ । दुवै कार्यक्रममा बोल्ने नेताहरुले प्रधानमन्त्री ओलीको पछिल्लो कदमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने भएकाले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्धमा थप सक्रिय भएर लाग्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ । नेताहरुले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण प्रतिनिधिसभा विघटन भएको बताउदै यसका विरुद्धमा सशक्त ढंगले थप सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् । दुवै स्थानमा भएको प्रदर्शनमा सहभागि नेता तथा कार्यकर्ताहरूले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम र सरकारका विरुद्धका विभिन्न नारा लगाएका थिए ।