२२ मंसिर, काठमाडौं । नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा पुगेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । अब स्वर्णका लागि पर्सि भुटानसँग खेल्नेछ ।त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा नै अग्रता लिइको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् । पहिलो हाफमा नेपालले केही अवसर पाएपनि गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्यो र १-० कै अन्तरमा खेल जित्यो । खेलको अन्तिममा भने बंगलादेश १० खेलाडीमा सिमित भएको थियो । नेपाली खेलाडीलाई फउल गरेपछि दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएका हुन् ।
नेपालका प्रशिक्षक बालगोपाल मर्हजनले अब भुटानलाई फेरि एक पटक हराएर स्वर्ण जित्ने विश्वास व्यक्त गरे । समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो ।