सिन्धुली । असार २४ गते,
नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथी कुटपिट गर्ने प्रहरी हवल्दार र प्रहरी जवान निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामसिंह लामा र प्रहरी जवान विकास स्याङ्तान कार्की र दाहालमाथी निर्घात कुटपीट गरेको अभियोगमा निलम्बनमा परेका हुन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक अपराधमा संलग्न भएको भन्दै ६ महिनाका लागि निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव निरीक्षक लोकदर्शन थापाले बताए।
कमलामाई नगरपालिका ६ शिवनगरचोकमा रहेको शिवनगर खाजा घरमा शनिवार राति करिव ९ बजे खाना खाँदै गर्दै लामा र स्याङ्तानले पत्रकार कार्की र दाहालमाथी निर्घात कुटपिट गरेका थिए। सादा पोषाकमा गएका लामाले कार्की र दाहाल खाना खाँदै गर्दा मोवाइलबाट भिडियो खिचेको विषयलाई लिएर झगडा भएको थियो। भिडियोको विषयलाई लिएर भएको झगडा कुटपिटमा परिणत हुँदा पत्रकार महासंघका अध्यक्ष कार्की गम्भीर घाईते भएका थिए भने दाहाल सामान्य घाइते भएका थिए। उता पत्रकारमाथि नियोजित आक्रमण गरिएको भन्दै महासंघले संस्थागतरुपमा प्रहरी हवल्दार लामा र जवान स्याङ्तानमाथी सोमबार किटानी जाहेरी दिएको छ। महासंघको सिन्धुली शाखाका सचिव लिलानाथ पौडेलले कार्की र दाहालमाथी ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको भन्दै ज्यान उद्योगमा किटानी जाहेरी दिएका हुन्।
प्रहरी निरिक्षकको नेतृत्वमा छानविन समिति गठन
पत्रकार महासंघका अध्यक्ष र पूर्व अध्यक्षमाथि भएको कुटपिटको विषयलाई लिएर छानविन गर्न प्रहरीले छुट्टै छानविन समिति समेत गठन गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी निरिक्षक श्याम केसीको नेतृत्वमा तिन सदस्य छानविन समितिको गठन गरिएको प्रहरी प्रवक्ता थापाले जानकारी दिए। उक्त घटनालाई लिएर सिन्धुलीका पत्रकारहरू आइतबारदेखि नै आन्दोलित भएका छन्। उनीहरूले दोषीमाथि कडा कारबाही हुनु पर्ने, घाइतेको उपचार र पत्रकारिता पेशा र पत्रकारको सुक्षाको माग गर्दै सोमबार पनि हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन्। शनिवार राति भएको कुटपिटको घटनामा निष्पक छानविन गरी दोषीलाई हदैसम्मको कारबाही गरिने सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जनाए। प्रहरी हवल्दार लामा र जवान स्याङ्तानलाई घट्ना घटेकै दिन प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। उक्त घटनाको विषयमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति, ३ नम्बर प्रदेश समिति तथा विभिन्न पेशागत संगसंगठनले चौतर्फी विरोध गर्दै आएका छन्।
पत्रकार कुट्ने प्रहरी हवल्दार र जवान निलम्बित, प्रहरी निरिक्षकको नेतृत्वमा छानविन समिति गठन
- प्रकाशित मिति: मंगलबार, असार २४ २०७६
- तामाकोशी