काठमाडौं । जेठ २७ गते,
तल्लो तहका सरकारहरुमा आर्थिक अपचलनको गुनासो बढिरहेका बेला उदयपुरको त्रियुगा नगरपालिकाले ‘प्रविधि हस्तान्तरण’ भन्दै पत्रकारलाई ल्यापटप वितरण गरेको छ । केही दिनअघि एक कार्यक्रमको आयोजना गरी उदयपुरको गाइघाटलाई केन्द्र बनाएर पत्रकारिता गर्दै आएका ३० पत्रकारहरुलाई एकरएक थान ल्यापटप बाँडिएको हो ।
मेयर बलदेव चौधरीले पत्रकारलाई ल्यापटप हस्तान्तरण गरेका थिए । सत्य, तथ्य र निष्पक्ष समाचार लेखन कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले पत्रकारलाई ल्यापटप वितरण गरिएको नगरपालिकाले जनाएको छ । उक्त ल्यापटपको मूल्य ४५ हजार रुपैयाँ रहेको छ । प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत नगरपालिकाले १२ लाख रुपैयाँ चालु आर्थिक वर्षका लागि विनियोजन गरेको थियो । यसपटक ल्यापटप नपाउने पत्रकारलाई अर्को वर्ष वितरण गरिने नगरपालिकाले बताएको छ ।
नगरपालिकाका सूचना अधिकारी विश्वजित राईले स्थानीय पत्रकार प्रवर्द्धन कार्यक्रममार्फत ल्यापटप वितरण गरिएको जानकारी दिए । उनका अनुसार पत्रकार कौशल चेम्जोङ संयोजकको संयोजकत्वमा एक समिति बनाएर ल्यापटप वितरणका लागि पत्रकारको नाम छनोट गरिएको थियो । नेपाल पत्रकार महासंघ, उदयपुर शाखाका अध्यक्ष भरत खड्काले स्थानीय पत्रपत्रिका तथा रेडियो आर्थिक रुपमा धरासायी भएको भन्दै नगरले सहयोग गरेको बताए । वितरण गरिएको एउटा ल्यापटप आफ्नो भागमा पनि परेको उनले बताए ।
उदयपुरको त्रियुगा नगरपालिकाद्धारा पत्रकारलाई ल्यापटप वितरण
- प्रकाशित मिति: सोमबार, जेष्ठ २७ २०७६
- तामाकोशी