काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्ना कार्यकर्तामाथिको ज्यादती नरोके सरकारविरुद्ध कडा संघर्षमा उत्रने चेतावनी दिएको छ । शुक्रबार सो पार्टीका प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गरेर सरकारलाई सो चेतावनी दिँदै सरकारको ज्यादती रोक्नका लागि अधिकारीकर्मी, नागरिक समाजलाई कदम चाल्न पनि आग्रह गरिएको छ ।
यही जेठ ७ गते निशस्त्र हिँडिरहेका आफ्नो कार्यकर्ता तीर्थ घिमिरे राजुलाई गिरफ्तार गरेर तर्साउने र राजनीतिक वातावरण उत्तेजित पार्ने सरकारको कदमविरुद्ध जेठ १३ गतेका लागि आह्वान गरिएको आमहड्ताल सफल पार्ने क्रममा भएको प्राविधिक समस्याका कारण आफ्ना ५ जना कार्यकर्ता घाइते भएका र उनीहरुको कलंकीको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा घाइतेका आफन्तलाई सहजरुपमा भेट्न नदिएको, अवरोध गर्ने र विरामीलाई एम्बुसको रुपमा प्रयोग गरेर सरकारले ज्यादती गरेको उल्लेख छ ।
