‘प्रधानसेनापति उत्कृष्ट कृषक सम्मान’ रामेछापका कृषक श्याम कुमार थापालाई

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २० २०७५
  • तामाकोशी

काठमान्डौ, फागुन २० गते ।
नगद एक लाख सहितको प्रधानसेनापति उत्कृष्ट कृषक सम्मानबाट रामेछापका कृषक श्याम कुमार थापा सम्मानित हुनु भएको छ । कृषि क्षेत्रमा नमूना काम गरेको भन्दै रामेछाप दोरम्बा गाउँपालिका–२ दोरम्बा ढोईगाउँका कृषक श्याम कुमार थापा प्रधानसेनापति उत्कृष्ट कृषक सम्मानबाट सम्मानित भएको हो ।

रामेछाप जिल्लामा थापाले सञ्चालन गरेको कृषि फर्मले उत्कृष्ट काम गरेको भन्दै सेना दिवसको अवसरमा सोमवार सैनिक मञ्च टुडिखेलमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नगद सहित प्रमाण प्रदान गरेर सम्मान गरेका हुन् ।
कृषक थापाले भिमेश्वर फलफुल तथा नर्ससी उद्योग स्थापना गरेर विगत दस बर्षदेखि सक्रियतापुर्वक कृषि पेशामा संलग्न छन् । थापाले दोरम्बा गाउँपालिकामा नमूनाको रुपमा कृषि फर्म सञ्चालन गरेपनि अन्य कृषक पनि कृषि पेशाबाट राम्रो आम्दानी गर्न सकिने विश्वासको साथ कृषि पेशामा लागेका छन् । प्रधानसेनापति कृषक सम्मानले आफूलाई आगामी दिनमा झन राम्रो काम गरेर देखाउनु पर्ने चुनौती थपिएको कृषक थापाको भनाई छ ।



नेपाली सेनाबाट अवकाश भए लगत्तै थापाले आफ्नै गाउँठाउँमा केही गरेर देखाउने अठोटको साथ फलफुल खेती सुरु गरेका थिए ।
उनले करिब ८० रोपनी जग्गामा किबी सहित ४० भन्दा बढी प्रजातिका फलफुल लगाउनु भएको छ भने नर्सरी पनि सञ्चालन गर्दै आएका छन् । दस जना भन्दालाई रोजगारी समेत दिन सफल भएका कृषक थापाले बार्षिक १० देखि १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको बताउछन । गत बर्ष सिन्धुलीमा भएको कृषक सम्मेलनमा उत्कृष्ट कृषकको सम्मान प्राप्त गरेका थापाले यस बर्ष प्रधानसेनापति उत्कृष्ट कृषक सम्मान प्रदान गरेको निकै खुसी लागेको बताए ।