ठेकेदारको लार्पवाहीले भवन अलपत्र, बिचौरका प्रहरी त्रिपालमुनी बस्न बाध्य

  • प्रकाशित मिति: सोमबार, पुष १८ २०७३
  • तामाकोशी

दीपक अधिकारी
बिचौर (लमजुङ)

बर्षौ बित्दापनि नयाँ भवन नबनेपछि पूर्वी लमजुङको बिकट तिन गाबिस कार्यक्षेत्र भएको ईलाका प्रहरी कार्यलय बिचौरमा रहेका प्रहरीहरु त्रिपालमुनीनै बस्न बाध्य बनेका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
 भाडामा सञ्चालन हुँदै आएको प्रहरी कार्यालय बैशाख १२ गते गएको बिनाशकारी भुकम्पबाट चर्किएर जोखिमयुक्त बनेपछि प्रहरीहरु त्रिपालमुनी नै बस्न बाध्य बनेका हुन् । भुकम्प गएको १५ महिना कटिसकेपनि बन्दै गरेको भवन अलपत्र बनेपछि प्रहरीहरु थप समस्या परेका छन् ।
‘बिहान बेलुका तुसारोले सेताम्मे हुन्छ, ईलाका प्रहरी कार्यालय बिचौरका असही बसन्त सिहं थापाले भने, ‘ त्रिपालमुनी बर्षायाम र जाडोमा निकै समस्या       हुन्छ ।’ जनताको सुरक्षा दिन बसेका प्रहरीहरुनै त्रिपालमुनी बस्दा असुरक्षित महशुश गरीरहेका छन् ।
त्रिपालको चौघेरोमा बस्दै आएका प्रहरीलाई सुबिधा सम्पन्न भवनमा कहिले बस्न पाउने हो भन्ने चासो पनि उत्तिकै छ ।
१२ असार २०७० मा सम्झौता भएको नयाँ सुबिधा सम्पन्न भवन हालसम्म बन्न सकेको छैन् । सम्झौता अनुसार ९ चैत्र २०७० मा भवन निर्माण भईसक्नुपर्ने थियो ।
 ठेकेदारको चरम लार्पवाहीका कारण निर्माणमा ढिलाई हुँदै आएको सो भवन बैशाख १२ गतेको भुकम्पपछि ठाउँठाउँ चर्किएको छ ।  जिल्ला प्रहरी कार्यालय लमजुङको पटक पटकको ताकेतापछि नयाँ भवनको माथिल्लो तल्ला र चर्किएको ठाउँमा मर्मत सम्भार भएपनि अन्य कार्यभने त्यत्तिकै थाँती छ ।
शान्ती तथा पुननिर्माण मन्त्रालय र दातृ निकायको सहयोगमा १ करोड ८ लाख ६५ हजार २ सय २६ रुपैयाँ बिनीयोजन भएको सो भवनमा ठेकेदारले जम्मा ६७ लाख १ हजार ३८ रुपैयाँ बराबरको कामगरी सो को भुक्तानी लगेको छ । बाँकी रकम कोलेनिका लैनचौर खातामा जम्मा गरीएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
ठकेदारको लार्पवाही पछि सो ठेक्का तोड्नका लागि केन्द्रमा सिफारीश गरीएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरिक्षक समीरचन्द्र खरलले बताए । ‘निर्माणमा लार्पवाही देखिएपछि ठेक्का तोड्न अनुरोध गर्दै केन्द्रमा पठाएका छौं, उनले भने, ‘केन्द्रले के गर्छ थाहा छैन ।’
ठकेदार कम्पनी जे एस आर निभा जेभी पोखराका प्रोपाईटर ऋषीराम गौतमले भने एकदुईदिनमै प्रक्रिया सल्टाएर बाँकी काम पुरा गर्ने दाबी गरेका छन् ।
गोरखा सँग सिमाना जोडिएका पूर्वी लमजुङको बिकट गाबिस बिचौर, ईलमपोखरी र दुधपोखरी कार्यक्षेत्र रहेको सो प्रहरी कार्यालय ‘क’ श्रेणीको ईलाका प्रहरी कार्यालय हो । दशबर्षे द्धन्दकालमा भवन ध्वस्त बनेर पुनःस्थापना भएको सो  ईलाका प्रहरी कार्यालयमा २९ जनाको दरबन्दी कायम रहेपनि १४ जना मात्रै प्रहरी छन् । प्रहरी निरीक्षकको कमाण्ड रहने भएपनि अहिले सो पदपनि रिक्त छ ।