रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको न्यायिक समितिको आयोजना तथा इलाका प्रहरी कार्यालय धोबी रामेछापको सहजीकरणमा विद्यालयस्तरीय कानूनी सचेतना कार्यक्रम गाउँपालिकाका पाँच वटा माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक दिपा पाख्रिनको अध्यक्षतामा सञ्चालित कार्यक्रम वडा नं. ५ का श्री झट्टेश्वर माध्यमिक विद्यालय र श्री बुद्ध जनप्रिय माध्यमिक विद्यालय, वडा नं. ४ का श्री भृङ्गेश्वर माध्यमिक विद्यालय कोटगाउँ र धारापानी तथा वडा नं. ३ स्थित श्री बृखेश्वर माध्यमिक विद्यालय खोल्मामा आयोजना गरिएको थियो।
उपाध्यक्ष पाख्रिनका अनुसार पछिल्लो समय बढ्दो बालविवाह, लैङ्गिक हिंसा, साइबर अपराध, लागू पदार्थ दुर्व्यसन, बालश्रम, सामाजिक सञ्जालको दुरुपयोग लगायतका सामाजिक विकृतिहरू न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा बालबालिका तथा किशोर–किशोरीसँग सम्बन्धित कानूनी विषयमा इलाका प्रहरी कार्यालय धोबीका प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले सहजीकरण गर्नुभएको थियो।
नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, स्थानीय सरकार सञ्चालन ऐन तथा प्रचलित कानूनी व्यवस्थाले बालबालिका तथा किशोर–किशोरीहरूको संरक्षण, विकास र सहभागितालाई सुनिश्चित गर्ने भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने वडा नं. ४ का वडा अध्यक्ष दिपक पुलामी मगरले बताउनुभयो।
त्यस्तै, वडा नं. ३ का वडा अध्यक्ष गोपालराज तामाङले कार्यक्रममार्फत विद्यार्थीहरूले भविष्यमा हुन सक्ने विभिन्न अपराधका घटना तथा त्यसबाट बच्न अपनाउनुपर्ने सावधानीबारे व्यावहारिक जानकारी प्राप्त गरेको उल्लेख गर्नुभयो।
विद्यालय तहका विद्यार्थीहरूमा कानूनी ज्ञान, न्यायिक सचेतना तथा जिम्मेवार नागरिकको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको न्यायिक समितिले जनाएको छ।