सचेतना, समन्वय र कडा कार्यान्वयन बिना जातीय विभेद अन्त्य सम्भव नभएकोमा जोड

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २१ २०८३
  • तामाकोशी

रामेछाप । जातीय छुवाछुत तथा विभेदको अन्त्यका लागि सचेतना अभिवृद्धि, कानुनी कार्यान्वयन र सामाजिक रूपान्तरणलाई थप सशक्त बनाउनुपर्नेमा रामेछापका सरोकारवालाहरूले जोड दिएका छन् ।

२०औँ राष्ट्रिय जातीय छुवाछुत उन्मूलन दिवसको अवसरमा बिहीबार सदरमुकाम मन्थलीमा आयोजित “वर्तमान अवस्थामा विभेदका घटना र आगामी योजना” विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो धारणा राखेका हुन् ।
मन्थली नगरपालिकाको सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा रामेछापको आयोजनामा तथा राष्ट्रिय दलित पत्रकार संघ रामेछापको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।



कार्यक्रममा जिल्लाभित्र देखिएका जातीय विभेदका घटनाहरूको अवस्था, विद्यमान चुनौती र समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले कानुनले छुवाछुत तथा विभेदलाई निषेध गरे पनि व्यवहारमा अझै यस्ता घटना देखिनु गम्भीर चिन्ताको विषय भएको बताए । नेपाललाई जातीय छुवाछुत तथा विभेदमुक्त राष्ट्र घोषणा गरिएको २१ वर्ष बितिसक्दा पनि समाजमा घटनाहरू दोहोरिनु दुःखद रहेको उनीहरूको भनाइ थियो । नेपालको संविधानको धारा ४० ले दलित समुदायको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै कमजोर रहेको दलित अधिकारकर्मीहरूले गुनासो गरेका छन् ।
उनीहरूले संवैधानिक अधिकारलाई व्यवहारमा उतार्न संघ, प्रदेश र स्थानीय सरकारबिच समन्वय मजबुत बनाउनुपर्ने र समुदाय स्तरमा निरन्तर सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, मन्थली नगर कार्यपालिका सदस्य उद्धव रम्तेल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरे, गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्न कडेंले, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठलगायतले जातीय विभेद अन्त्य कुनै एक निकायको मात्र नभई राज्य, राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र र सम्पूर्ण नागरिकको साझा दायित्व भएकोमा जोड दिए ।
कार्यक्रममा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याएर उत्तीर्ण गर्ने मन्थली माध्यमिक विद्यालयकी छात्रा प्रतिमा नेपालीलाई सम्मान गरिएको थियो । साथै मन्थली नगरपालिकाका १४ वटै वडाका एक–एक जना दलित सफल व्यवसायीलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रामेछापका अध्यक्ष लेखबहादुर विकको अध्यक्षता तथा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।