रामेछाप । मनसुनजन्य विपद्का बेला उद्धार, राहत र समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले रामेछापमा संयुक्त विपद् प्रतिकार्य अभ्यास गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा बुधवार सदरमुकाम मन्थलीस्थित आकाशे पुल आसपासको तामाकोशी नदी किनारमा बाढी, पहिरो र डुबानमा परेकाको उद्धार पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी मनसुन–६ नामक संयुक्त अभ्यास गरिएको हो।
अभ्यासमा जिल्ला स्थित नेपाली सेनाको खड्गदल गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा भूतपूर्व सैनिकहरूको सहभागिता रहेको थियो।
जिल्लाको भौगोलिक जटिलता र हरेक वर्ष बाढी–पहिरोको जोखिम उच्च रहने अवस्थालाई ध्यानमा राख्दै आकस्मिक विपद्का समयमा उद्धार तथा राहत कसरी प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अभ्यास केन्द्रित गरिएको थियो।
आकाशे पुल नजिकको चिसापानी गाउँलाई नमुना क्षेत्र मानेर बाढीमा फसेका तथा तामाकोशीमा बगिरहेका नागरिकको उद्धार, प्राथमिक उपचार, राहत वितरण र सुरक्षित स्थानमा स्थानान्तरणसम्मका गतिविधिको प्रदर्शन गरिएको थियो। अभ्यासका क्रममा विपद्का बेला कुन निकायको भूमिका के हुने भन्ने विषय पनि व्यवहारिक रूपमा देखाइएको थियो।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले विपद् पूर्व सूचना दिएर नआउने भएकाले तत्काल उद्धार, उपचार, राहत तथा स्थानीय स्रोत–साधन परिचालनको तयारी आवश्यक रहेको बताए। उनका अनुसार जिल्ला एकीकृत सुरक्षा संयन्त्र र सरोकारवाला निकायबिच समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष मनसुनजन्य विपद्मा आधारित संयुक्त अभ्यास गरिँदै आएको छ।
“वास्तविक विपद्का बेला उद्धार तथा व्यवस्थापन कार्य सहज र प्रभावकारी होस् भन्ने उद्देश्यले अभ्यास गरिएको हो,” उनले भने, “यसले सुरक्षा निकाय र सरोकारवालाको भूमिका तथा परिचालन प्रणालीलाई स्पष्ट बनाएको छ।”