रामेछाप । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको २१ औँ साधारणसभा शनिवार मन्थलीमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य तथा अर्थ समिति सभापति डा. कृष्णहरि बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी वक्ताहरूले स्वतन्त्र, जिम्मेवार र व्यावसायिक पत्रकारिताको आवश्यकता औँल्याउँदै सञ्चार क्षेत्रलाई थप सुदृढ बनाउन पत्रकार महासंघको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
सहभागी अतिथिहरूले महासंघको संस्थागत विकास, पत्रकारको क्षमता अभिवृद्धि तथा प्रेस स्वतन्त्रताको संरक्षणमा एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य तथा अर्थ समिति सभापति डा. बुढाथोकीले आफूहरू “सुसंस्कृत र जिम्मेवार राजनीति” गर्न आएको दाबी गरे ।
पुराना दलको शैलीभन्दा फरक अभ्यास सुरु गरिएको र नयाँ सोच तथा नयाँ कार्यशैलीका कारण परिणाम देखिन केही समय लाग्ने उनको तर्क छ । देशको राजनीतिक संस्कार बदल्ने उद्देश्यसहित आफूहरू अघि बढिरहेको भन्दै आलोचनालाई सकारात्मक सुझावका रूपमा लिएको समेत उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबराज पथिक, बागमती प्रदेश समिति उपाध्यक्ष विमला पाण्डे, जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना कार्की, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान, सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले आफ्नो भनाइ राखेका थिए ।
त्यसै गरी प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, पत्रकार महासंघ रामेछापका संस्थापक अध्यक्ष दिनेश गाउँले, पूर्व अध्यक्ष बद्री नयाँघरे, गैरसरकारी संस्था महासंघ नेपाल रामेछापका अध्यक्ष रत्न कँडेल, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार कार्की, नेपाल बार एसोसिएसन रामेछापका अध्यक्ष पाण्डव प्रसाईँ लगायतले बोलेका थिए । नेपाल प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठ, प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेखबहादुर विक , प्रेस सेन्टर रामेछापका अध्यक्ष निरोज श्रेष्ठ र समाजवादी प्रेस संगठन नेपाल रामेछापका अध्यक्ष कैलाश खत्री लगायतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
साधारण सभाको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका दुई पत्रकारलाई सम्मान समेत गरिएको छ । १० हजार रुपैयाँ राशिको दिल बहादुर कार्की पर्यटन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार हिमाल ढुङ्गेल तथा ५ हजार राशिको शान्ता कुमारी ढुङ्गेल स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सुमित श्रेष्ठलाई प्रदान गरिएको हो । यसपछि शनिवार नै भएको बन्द सत्रले सचिव नवराज श्रेष्ठको सांगठनिक र कोषाध्यक्ष युवराज श्रेष्ठको आर्थिक प्रतिवेदन पास गरेको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेले जनाकारी दिए ।
कार्यक्रमकै अवसरा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि हस्ताक्षर संकलन अभियान पनि सञ्चालन गरेको छ । अभियानअन्तर्गत पत्रकार, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूले हस्ताक्षर गर्दै प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाएका हुन् । कार्यक्रममा सहभागीहरूले सूचना पहुँचमा नियन्त्रण, सरकारी खर्च कटौतीको बहानामा सञ्चारमाध्यमलाई प्रभावित पार्ने प्रयास तथा सरकारी विज्ञापनलाई राज्य नियन्त्रित सञ्चारमाध्यममा मात्र सीमित गर्ने नीतिप्रति विरोध जनाएका छन् ।
