नेपाली काँग्रेस रामेछापका सभापति तामाङ निलम्बित

  • प्रकाशित मिति: बुधबार, बैशाख १६ २०८३
  • तामाकोशी

रामेछाप । नेपाली काँग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ कान्छारामलाई निलम्बन गरेको छ । बुधवार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले तामाङलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार अनुशासन उल्लंघनसम्बन्धी स्पष्टीकरण चित्तबुझ्दो नभएपछि थप अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले तामाङलाई आजैदेखि जिम्मेवारीबाट हटाइएको हो ।
बैठकले वैशाख ७ गतेको निर्णय अनुसार पूर्व राज्यमन्त्री समेत रहेका तामाङसँग सोधिएको स्पष्टीकरणको जवाफ प्रारम्भिक रूपमा सन्तोषजनक नदेखिएको निष्कर्ष निकालेको छ ।



पूर्व सभापति शेरबहादुर देउवा निकट नेता मानिने तामाङले पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएको स्वीकार गर्दै त्यसमा बदनियत नभएको दाबी गरेका थिए । तर समितिले उनको जवाफले विषयको गम्भीरता कम नगरेको ठहर गर्दै थप अनुसन्धान आवश्यक रहेको जनाएको छ ।

केही समयअघि सार्वजनिक भएको एक भिडियोमा तामाङले काँग्रेस सभापति गगन थापासँग ३ अर्ब रुपैयाँ रहेको दाबी गरेको अभिव्यक्ति दिएका थिए, जसले पार्टीभित्र विवाद सिर्जना गरेको थियो । अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने देखिएकाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा नियमावली २०७६ को नियम २८ (३) बमोजिम अन्तिम निर्णय आउँदासम्मका लागि तामाङलाई जिल्ला सभापतिको जिम्मेवारीबाट निलम्बन गरिएको हो ।