रामेछाप । रामेछाप जिल्लामा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार–प्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको छ। राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८३ को अवसरमा नेपाल राष्ट्रिय फोटो पत्रकार समूह रामेछापले आइतबार विभिन्न स्थल झल्काउने तस्बिरहरू सार्वजनिक गरेको हो। सोही अवसरमा समूहले २०८३ सालको भित्ते पात्रो सार्वजनिक गर्नुका साथै प्रथम साधारण सभा पनि सम्पन्न गरेको छ।
प्रदर्शनीमा जिल्लाका प्रमुख ऐतिहासिक तथा धार्मिक स्थलहरू खाँडादेवी मन्दिर, थानापति महादेव थान, चिसापानी गढी, तिल्केस्थान गढी, भोटनागी चिया बगानदेखि रामेछापकै सबैभन्दा ठुलो मानिने घ्याप्चे पहिरोको अवस्था झल्काउने तस्बिरहरू राखिएका थिए। त्यसै गरी जिल्लाबाट बग्ने तामाकोशी, सुनकोशी लगायतका नदी तथा खोलाहरूको सौन्दर्यसमेत फोटोमार्फत प्रस्तुत गरिएको थियो। प्रदर्शनीमा राखिएका तस्बिरहरू जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा स्थानीय बासिन्दाले अवलोकन गरेका छन्। अवलोकनकर्ताहरूले प्रदर्शनीलाई निकै प्रभावकारी र सन्देशमूलक भएको प्रतिक्रिया दिए । यस्ता कार्यक्रमले जिल्लाको पहिचान अझ बलियो बनाउने बताए। केहीले घ्याप्चे पहिरो जस्ता विपद्का दृश्यहरूले जोखिमबारे सचेत गराएको उल्लेख गरे भने कतिपयले यस्ता तस्बिरले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे।
रामेछाप चिनाउन फोटो प्रदर्शन
- प्रकाशित मिति: आइतबार, बैशाख १३ २०८३
- तामाकोशी