रामेछाप । प्रेस चौतारी नेपाल रामेछापले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा भित्ते पात्रो सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको छ। सोमबार सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा संगठनका अध्यक्ष लेखबहादुर विकको अध्यक्षता तथा केन्द्रीय सदस्य युनिक विफा घिसिङको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिसिङले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्रै दिने वर्तमान सरकारको निर्णय अस्वीकार्य रहेको स्पष्ट पार्दै यसको विरोधमा प्रेस चौतारी नेपाल आन्दोलनमा उत्रने चेतावनी दिए। उनले उक्त निर्णयले स्वतन्त्र सञ्चार माध्यममाथि विभेद गरेको आरोप लगाए।
नेकपा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले फरक आस्था राख्ने नेता–नेतृत्वमाथि धरपकड र योजनाबद्ध आक्रमण भइरहेको भन्दै त्यसको एमालेले कडा प्रतिवाद गर्ने बताए। उनले सरकारी विज्ञापन सम्बन्धी निर्णयले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने निष्कर्षसहित एमाले यसको विरोधमा रहेको धारणा राखे।
त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिकले सरकारी विज्ञापनमा गरिएको विभेदकारी निर्णयविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय महासंघको केन्द्रीय समितिले गरिसकेको जानकारी दिए। उनले सोही निर्णयअनुसार आन्दोलन अपरिहार्य भएको बताए।
कार्यक्रममा प्रेस चौतारी नेपाल बागमती प्रदेश सचिव नवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरे, पूर्व अध्यक्ष रमेश ढुंगेल, फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठ तथा समाजवादी प्रेस संगठन रामेछापका अध्यक्ष कैलाश खत्रीले शुभकामना मन्तव्य व्यक्त गर्दै सरकारी निर्णयविरुद्ध सबै सञ्चारकर्मी एकजुट हुनुपर्नेमा जोड दिएका थिए। उनीहरुले प्रेस स्वतन्त्रताको रक्षा र समान विज्ञापन वितरणको माग गर्दै संयुक्त संघर्ष आवश्यक रहेको धारणा राखेका थिए।