उमाकुण्डमा पूर्ण खोप सुनिश्चितता अभियान सफलताउन्मुख

  • प्रकाशित मिति: मंगलबार, चैत्र १७ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भइरहेको उक्त कार्यक्रमअन्तर्गत मंगलबार गाउँपालिकाभित्रका ८ वटै स्वास्थ्य संस्थाका प्रमुखहरूले प्रगति विवरण (रिपोर्टिङ) प्रस्तुत गरेका छन्।

कार्यक्रमको समापनसँगै भोलि चैत १८ गते गाउँपालिकाका सबै वडालाई “पूर्ण खोप सुनिश्चितता” घोषणा गर्दै आधिकारिक प्रमाणपत्र वितरण गर्ने तयारी स्वास्थ्य शाखाले गरेको छ। यसले बालबालिकामा खोप पहुँच विस्तार र रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। यसैसँगै सरसफाइ प्रवद्र्धन कार्यक्रमलाई समेत निरन्तरता दिँदै आजबाटै अर्को चरणको अभियान सुरु गरिएको छ।



स्वास्थ्य र सरसफाइलाई एकीकृत रूपमा अघि बढाउने उद्देश्यले यो पहल गरिएको हो। चैत १७ गतेबाट सुरु भएको कार्यक्रम भोलि समापन हुने छ। कार्यक्रममा गाउँपालिकाका सबै स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्यकर्मी, वडा अध्यक्षहरू, गाउँपालिका उपाध्यक्ष लगायत सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गाउँपालिकाले स्वास्थ्य क्षेत्रको सुदृढीकरण र नागरिकको जीवनस्तर सुधारका लागि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।