रामेछाप । रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संयुक्त अपिल जारी गर्दै अध्यक्ष पदका उम्मेदवार प्रकाशकुमार श्रेष्ठलाई समर्थन गरेका छन्। उनीहरूले आइतबार आगामी ९ औँ जिल्ला अधिवेशनमा उद्योगी व्यवसायी तथा सदस्यहरूलाई श्रेष्ठको पक्षमा मतदान गर्न आह्वान गरेका छन्।
संघका पूर्व अध्यक्षहरूका अनुसार जिल्लाका उद्योगी व्यवसायीहरूको साझा भावना समेट्दै सहमति, सहकार्य र एकताबद्ध कार्यसमिति गठन गर्ने प्रयास गरिएको थियो। सोही प्रयासका कारण १५ सदस्यीय कार्यसमितिमध्ये पदाधिकारी र सदस्य गरी १४ जना निर्विरोध निर्वाचित भइसकेका छन्।
अध्यक्ष पदमा सहमति कायम गराउन विभिन्न चरणमा छलफल भए पनि निष्कर्षमा पुग्न नसक्दा अन्ततः निर्वाचन हुने भएको हो। अध्यक्ष पदका लागि संघका वर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ र महासचिव कुमार श्रेष्ठ चुनावी मैदानमा छन्।
पूर्व अध्यक्षहरू लोकबहादुर श्रेष्ठ, नारायणदाश श्रेष्ठ, पशुपतिबहादुर खड्का, श्याम थापा र केशवप्रसाद घिमिरेले संयुक्त रूपमा प्रकाशकुमार श्रेष्ठलाई समर्थन जनाउँदै संस्थाको हितका लागि उनको जित आवश्यक रहेको बताएका छन्। उनीहरूले सम्पूर्ण उद्योगी व्यवसायी तथा सदस्यहरूलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरेका छन्। यही चैत २० गते हुने अधिवेशनले संघको नयाँ नेतृत्व टुङ्गो लगाउनेछ।
