तालिम, मेहनत र आत्मविश्वासको बलमा गाउँमै उद्यम

  • प्रकाशित मिति: बुधबार, चैत्र ११ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको सुनापति गाउँपालिका–३ अर्चलेका मिलन श्रेष्ठ बिहानैदेखि सिलाइ मेसिन अगाडि व्यस्त देखिन्छन्। केही वर्ष अघिसम्म सामान्य रुचि मात्र रहेको सिलाइ–कटाइ आज उनको पहिचान र आम्दानीको मुख्य आधार बनेको छ। सानो टेलर्सबाट सुरु भएको उनको यात्रा अहिले गाउँमै सिप सिकाउने प्रशिक्षकसम्म पुगेको छ।

मिलनले सुरुमा लेवल–१ तालिम लिएर गाउँमै टेलर्स व्यवसाय थालेका थिए। काम गर्दै जाँदा उनले सीपमा निखार ल्याउने उद्देश्यले तीन महिने लेभल–२ तालिम पनि पूरा गरे। “सुरुमा सानो कामबाट थालेँ, अहिले कामको माग पनि बढ्दै गएको छ,” उनी भन्छन्।



सामुदायिक विकास समाज(सिडिएस) मार्फत लेबल २ को तालिम लिएपछि अहिले उनी केवल आफू मात्रै कमाइ गर्ने होइनन् । अरू युवालाई पनि सीप सिकाएर गाउँमै अवसर सिर्जना गर्ने काममा सक्रिय छन्। उनको आम्दानी बढेसँगै सामाजिक पहिचान पनि मजबुत बन्दै गएको छ।

मिलन जस्तै सुनापति गाउँपालिका–४ बेथानकी अञ्जना थिङले पनि तालिमपछि आफ्नो जीवनको दिशा फेरेकी छन्। प्लस टु सकिएपछि “अब के गर्ने?” भन्ने अन्योलतामा रहेकी उनलाई सामुदायिक विकास समाजले सञ्चालन गरेको तीन महिने सिलाइ–कटाइ तालिमले मार्ग देखायो।

तालिमपछि परिवारको साथमा उनले गाउँमै टेलर्स व्यवसाय सुरु गरिन्। अहिले उनी आफ्नै कमाइबाट आत्मनिर्भर बनेकी छन्। “आफ्नो खर्चका लागि अरूमा निर्भर हुनुपर्दैन,” उनी भन्छिन्।

मन्थली नगरपालिका–४ सालुका कुमार श्रेष्ठको कथा पनि उत्तिकै प्रेरणादायी छ। विदेश जाने योजना बनाइसकेका उनले गाउँमै अवसर पहिचान गर्दै एसी–फ्रिज मर्मत क्षेत्रमा हात हाले। तीन महिनाको तालिमपछि सुरु गरेको काम आज उनको मुख्य आम्दानीको स्रोत बनेको छ। उनले रामेछापमै होन्डाई र सिजी कम्पनीको वारेन्टी सेवा सञ्चालन गर्दै आएका छन्। ओखलढुङ्गा र रामेछापका विभिन्न स्थानमा सेवा दिँदै उनी सिजनमा मासिक करिब एक लाख र अफ सिजनमा ६० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

“विदेश जान पासपोर्ट नै बनाइसकेको थिए, तर सिपपछिको कामले गाउँमै पनि राम्रो गर्न सकिन्छ भन्ने देखेपछि यतै बस्ने निर्णय गरेँ,” कुमार भन्छन्, “अहिले काम राम्रो चलिरहेको छ, आम्दानी पनि ठिक छ, आफ्नै ठाउँमा केही गरिरहेको सन्तुष्टि सबैभन्दा ठुलो कुरा हो।”

यी तीन पात्र मात्र उदाहरण हुन्। रामेछापका गाउँ–गाउँमा यस्ता युवाहरू भेटिन्छन्, जसले सिप, तालिम र मेहनतका बलमा गाउँमै व्यवसाय सञ्चालन गर्दै आत्मनिर्भर बन्ने बाटो रोजेका छन्। यसले स्थानीय स्तरमै रोजगारी सिर्जना हुने सम्भावना पनि बढाएको छ।

तर, चुनौतीहरू भने अझै ज्युँका त्युँ छन्। गाउँमा बजारको अभाव, व्यवसाय विस्तारका लागि झन्झटिलो बैङ्किङ प्रक्रिया, पूर्वाधारको कमी र सीमित अवसरका कारण यस्ता युवालाई गाउँमै टिकाइ राख्न कठिन छ। यही कारण धेरै युवाहरू अझै पनि वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका छन्।