रामेछाप उद्योग वाणिज्य संघमा अध्यक्ष बाहेका अन्य सबै पदमा निर्विरोध

  • प्रकाशित मिति: मंगलबार, चैत्र १० २०८२
  • तामाकोशी

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि मात्र प्रतिस्पर्धा हुने भएको छ भने अन्य सबै पदहरू निर्विरोध चयन भएका छन्। मंगलबार स्वतन्त्र उम्मेदवारका रूपमा निवर्तमान महासचिव कुमार श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनलाई टक्कर दिन नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा आबद्ध व्यवसायीहरूको संयुक्त टिमबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ पनि मैदानमा उत्रिएका छन्।
संघका १५ पदमध्ये अध्यक्ष बाहेकका सबै पदमा निर्विरोध चयन भएको जनाइएको छ। निर्विरोध हुनेमा महासचिवमा यज्ञ प्रसाद सुवेदी, वरिष्ठ उपाध्यक्षमा आकाश रिजाल, वाणिज्य उपाध्यक्षमा सुरेश उदास, उद्योग उपाध्यक्षमा राम सुदिश शाह सोनार, सचिवमा सिताराम लोहार र कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम) रहेका छन्। यसैगरी, संयुक्त व्यवसायी टिमबाट आजीवन कार्यसमिति सदस्यमा वासुदेव फुयाँल पुनः चयन भएका छन् भने महिला सदस्यमा पहिलो पटक मञ्जु माझीले अवसर पाएकी छन्। खुल्ला सदस्यतर्फ श्याम कुमार श्रेष्ठ, किशोर पौडेल, सुरोज कुमार तामाङ, देवचन्द्र कठेत र राजु श्रेष्ठ निर्विरोध भएका छन्। यस पटक पहिलोपटक एसोसियट सदस्यतर्फ टिकाराज आरणले प्रवेश पाएका छन् । संघको ९ औँ जिल्ला अधिवेशन फागुन २० गतेका लागि तय भएको हो ।