रामेछापमा विपद् तयारीका लागि वन डढेलोदेखि पहिरो नियन्त्रणसम्म २१ बुँदे निर्णय कार्यान्वयनमा जोड

  • प्रकाशित मिति: सोमबार, चैत्र ९ २०८२
  • तामाकोशी

रामेछाप । जिल्ला विपद् व्यवस्थापन समिति, रामेछापले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा पुनर्लाभ कार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित २१ बुँदे महत्वपूर्ण निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी तथा समिति संयोजक श्यामकृष्ण थापाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा सोमबार बैठक बसेको हो । बैठकले हालसम्म भएका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै आगामी दिनमा थप प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।
बैठकले “वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२” अनुसार डिभिजन वन कार्यालयमार्फत तयार गरिएको वन डढेलो रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८२÷८३ स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ। साथै, सामुदायिक वनमा आगजनी गर्ने व्यक्ति वा समूहको पहिचान भएमा तत्काल प्रशासन र प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।



सुख्खायाम र प्रि–मनसुन सुरु भइसकेकाले सम्भावित आगलागी तथा हावाहुरीजन्य विपद्लाई ध्यानमा राख्दै सबै सुरक्षा निकाय, वन कार्यालय, नेपाल रेडक्रस, सामुदायिक वन महासंघ तथा अन्य सरोकारवालाबीच समन्वय गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। सम्बन्धित कार्यालयलाई आफ्ना स्रोत–साधन तयारी अवस्थामा राख्न पनि बैठकले निर्देशन दिएको छ।

बैठकले हालैको हावाहुरीबाट विद्यालय तथा सार्वजनिक संरचनामा भएको क्षतिको पुनर्निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ भने स्थानीय तहबाट सिफारिस भई आउने विपद् सम्बन्धी विषयलाई आवश्यक प्रक्रिया पूरा गरी अघि बढाउने जनाएको छ। यसैगरी, तामाकोशी नदी किनार क्षेत्रमा भइरहेको कटानबाट मन्थली नगरपालिकाका विभिन्न वडाका बस्ती र खेतीयोग्य जमिन जोखिममा परेको भन्दै संरक्षणका लागि बजेट व्यवस्थापन गर्न सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरिएको छ। मन्थलीको घ्याप्चे पहिरो, भटौली क्षेत्र, बफरखोला, महादेव खोला, थानापाती मन्दिर आसपासका पहिरो नियन्त्रणका लागि समेत पहल गरिने भएको छ।

रामेछाप नगरपालिकाका विभिन्न वडामा रहेका पहिरो जोखिम क्षेत्रहरू—धारापानी बसेरी, भंगेरी, तामाङ टोल, रजयछाप बस्ती तथा सुकाजोर हिलेपानी खेलमैदान—मा पनि पहिरो नियन्त्रण तथा संरक्षणका लागि आवश्यक बजेट माग गरिने निर्णय गरिएको छ। सवारी दुर्घटनाबाट सडकमा पुगेको क्षतिको तत्काल पुनर्निर्माण गर्न सम्बन्धित डिभिजन कार्यालयलाई जिम्मेवारी दिइएको छ भने विपद् प्रभावितलाई अस्थायी तथा स्थायी आवास निर्माणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी रकम उपलब्ध गराउने निर्णय गरिएको छ।

रसुवास्थित भोटेकोशी बाढीमा ज्यान गुमाएका रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ घर भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठका परिवारलाई मापदण्डअनुसार २ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णयलाई पनि बैठकले अनुमोदन गरेको छ। सुनापति गाउँपालिका–३ को केउरानी र साउने बस्ती उच्च जोखिममा रहेको भन्दै यथाशीघ्र बस्ती स्थानान्तरण र अस्थायी आवास निर्माणका लागि पुनः प्राधिकरणमा पहल गर्ने निर्णय गरिएको छ। यसका साथै, आगलागी लगायत विपद्बाट बच्न जनचेतना अभिवृद्धि गर्न पत्रकार महासंघमार्फत स्थानीय सञ्चार माध्यमबाट सूचना प्रचार–प्रसार गर्ने तथा सबै निकायलाई समन्वयात्मक रूपमा सक्रिय भई विपद् व्यवस्थापनका कार्य प्रभावकारी बनाउन आह्वान गरिएको छ। समितिले समग्रमा जिल्लामा हुनसक्ने विपद्जन्य घटनाबाट हुने क्षति न्यूनिकरण गर्दै पूर्वतयारी, उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई सुदृढ बनाउन सबै पक्षलाई सक्रिय र समन्वयात्मक भूमिकामा रहन आग्रह गरेको छ।