रामेछाप । रामेछापमा वैदेशिक रोजगारीले ग्रामीण समाज र अर्थतन्त्रमा गहिरो प्रभाव पारिरहेको देखिएको छ । जिल्लाको मन्थली र रामेछाप नगरपालिकामा गरिएको एक अध्ययन अनुसार यी ठाउँका कम्तीमा २४ प्रतिशत घरपरिवारका एक सदस्य वैदेशिक रोजगारीमा संलग्न छन् । सीमित स्थानीय रोजगारी अवसर, शून्य प्राय औद्योगिक विकास र खडेरीका कारण कृषि उत्पादनको सीमितताका कारण वैदेशिक रोजगारी ग्रामीण परिवारका लागि महत्त्वपूर्ण आय स्रोत बनेको एक अनुसन्धानले देखाएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस) को दर्शनशास्त्र (एम.फिल.) को शोधपत्र अनुसन्धानका क्रममा शोधार्थी चेतनाथ अधिकारीले रामेछाप जिल्लामा श्रम बसाइँसराइ, रेमिट्यान्सको उपयोग र घरपरिवारको कल्याणबिचको सम्बन्धलाई उजागर गरेका हुन् ।
नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा रेमिट्यान्सको योगदान करिब २८ प्रतिशत रहेको भए पनि यसले घरपरिवारको जीवनस्तरमा पार्ने वास्तविक प्रभाव बुझ्न सूक्ष्म स्तरमा अध्ययन आवश्यक रहेको अधिकारीले बताएका छन् । सोही विषयमा बुझ्न उनले रामेछापको मन्थली र रामेछाप नगरपालिकामा गत भदौमा २सय ६० घरपरिवार ३१ वटा प्रश्नावली सहित अध्ययन गरेका थिए ।
अधिकारीका अनुसार नेपालमा विदेश गएका मध्ये औसतमा एक घरले ३२ हजार ३ सय ३८ रुपैंया रेमिट्यान्स प्राप्त गर्दछन् । तर रामेछापमा राष्ट्रिय औसत भन्दा कम मात्र रेमिट्यान्स प्राप्त गर्ने परिवारको सङ्ख्या ठुलो छ । जस अनुसार मन्थली नगरपालिकाका ७०.८ र रामेछापका ८६.९ प्रतिशतले औसत भन्दा कम मात्र रेमिट्यान्स प्राप्त गर्दछन् । तर मन्थलीका २९.२ र रामेछापका १३.१ प्रतिशत रेमिट्यान्स रिसिभरले राष्ट्रिय औसत भन्दा बढी रकम प्राप्त गरिरहेका छन् । जातिगत हिसाबले बाहुन क्षेत्रीका ६२ घरले राष्ट्रिय औसत भन्दा कम र २२ घरले बढी रेमिट्यान्स प्राप्त गरिरहेका छन् । यस्तै जनजातिका ११९ घरले औसत भन्दा कम र ३० घरले औसत भन्दा बढी रेमिट्यान्स प्राप्त गरिरहेका छन् ।अधिकारीका अनुसार वैदेशिक रोजगारीमा जानु पूर्व दैनिक ज्यालादारी गर्नेहरूले पठाउने रेमिट्यान्स अन्य पेसाका संलग्न भएकाहरूको भन्दा बढी छ । उनीहरू मध्ये ३३.३ प्रतिशतले राष्ट्रिय औसत भन्दा बढी नै रेमिट्यान्स घरमा पठाउने गरेका छन् । कृषि पेसामा संलग्नहरू मध्ये १८.४ प्रतिशतले मात्र राष्ट्रिय औसत भन्दा बढी रेमिट्यान्स पठाउने गरेका छन् । वैदेशिक रोजगारी जानु पूर्व व्यापारमा संलग्नहरू मध्ये पनि २९.४ प्रतिशतले राष्ट्रिय औसत भन्दा बढी रेमिट्यान्स पठाउने गरेका छन् ।
अनुसन्धानका अनुसार रेमिट्यान्स ग्रामीण परिवारका लागि आर्थिक ‘जीवन रेखा’ जस्तै बनेको छ। अध्ययनमा सहभागी ५९.६ प्रतिशत घरपरिवारले मासिक रूपमा रेमिट्यान्स प्राप्त गर्ने गरेका छन् । ६६.९ प्रतिशत शिक्षा र अन्य सेवा खर्चमा जाने गरेको छ ।
प्राप्त रेट्यिान्स मध्ये ७३.५ प्रतिशत अर्थात् १ सय ९१ परिवारले दैनिक उपभोगमा खर्च गर्ने गरेका छन् । उत्तरदाता मध्ये ३५.८ प्रतिशत अर्थात् ९३ घरपरिवारले रेमिट्यान्सलाई घरजग्गा खरिदमा पनि खर्च गरेको बताएका छन् । उत्पादनमूलक क्षेत्रमा रेमिट्यान्सको उपयोग एकदम न्यून देखिएको छ । केवल १३ घरपरिवारले रेमिट्यान्सबाट आएको पैसाले नयाँ व्यापार थालेको बताएका छन् । ४३.५ प्रतिशतले विदेश जाँदा लागेको ऋण तिर्न रेमिट्यान्सको खर्च गरेको बताएका छन् । रेमिट्यान्सलाई स्वास्थ्य बिमामा प्रयोग गर्ने परिवार सङ्ख्या पनि उल्लेख्य रहेको छ । जस अनुसार ४५.८ प्रतिशतले यो प्रयोजनका लागि रेमिट्यान्सको प्रयोग गर्ने गरेका छन् । रेमिट्यान्सलाई बचतको रूपमा प्रयोग गर्नेहरू ६८ प्रतिशत रहेका छन् । ‘आर्थिक आम्दानीका अन्य क्षेत्र नहुँदा रेमिट्यान्स नियमित आम्दानीको स्रोत देखिएको छ ’ अधिकारी भन्छन् ‘यसले घरको गर्जो मात्र टारेको हैन कि गाउँको गाउँको इकोनमिक लाइफलाइनको रूपमा भरथेग भएको छ । ’ रेमिट्यान्स अस्थायी आम्दानीको स्रोत भएकोले यसको सदुपयोगबाट स्थायी स्रोतमा रूपान्तरण गर्नुपर्ने उनले बताएका छन् । यसका लागि स्थानीय सरकारको उत्पादनमूलक क्षेत्रमा रेमिट्यान्सको सदुपयोग सम्बन्धी नीति हुनुपर्ने उनको सुझाव छ ।
मध्यपूर्व प्रमुख गन्तव्य
अध्ययनमा समेटिएका सबै घरपरिवारका कम्तीमा एक सदस्य विदेशमा काम गरिरहेका छन्। तीमध्ये अधिकांश पुरुष आप्रवासी ६१.२ प्रतिशत रहेका छन्। गन्तव्यका रूपमा मध्यपूर्व सबैभन्दा प्रमुख ४७.७ प्रतिशत रहेको छ भने जापान २३.७ प्रतिशत र दक्षिण कोरिया ६ प्रतिशत गएका छन् ।
अध्ययनले विशेष गरी जापानतर्फ महिला आप्रवासीको उपस्थिति उल्लेखनीय रहेको देखाएको छ । बसाइँसराइअघि अधिकांश युवाहरू (५८.५) प्रतिशत कृषि पेसामा संलग्न थिए ।
आर्थिक सुधार तर सामाजिक चुनौती
अध्ययनले वैदेशिक रोजगारीपछि अधिकांश घरपरिवारको आर्थिक अवस्थामा सुधार आएको देखाएको छ । सर्वेक्षणमा सहभागी ७३.१ प्रतिशत परिवारले विगत पाँच वर्षमा आफ्नो जीवनस्तर राम्रो भएको बताएका छन्। तर वैदेशिक बसाइँसराइका सामाजिक प्रभाव पनि देखिएका छन् । करिब ३८.१ प्रतिशतले परिवारका सदस्यहरू अलग हुनु ठुलो समस्या भएको बताएका छन् । खास गरी वैदेशिक रोजगारीमा हुनेका श्रीमतीले एक्लो महसुस गर्ने,बच्चाहरूले असुरक्षित महसुस गर्ने,कृषि क्षेत्रमा महिला र वृद्ध वृद्धाको जिम्मेवारी बढेको देखिएको छ । अध्ययन अनुसार घरमा काम गर्न सक्ने युवा वैदेशिक बसाँइसराइ गर्दा रेमिट्यान्समा निर्भरता बढेको छ । जसका कारण ५४.६ प्रतिशत घरपरिवारमा कृषि उत्पादनमा कमी आएको देखिएको छ ।
वैदेशिक रोजगारीले घरपरिवारको निर्णय प्रक्रियामा भने महिलाको पहुँच बढाइरहेको देखिएको छ । तथापि ४९.६ प्रतिशत परिवारमा पुरुषले आर्थिक निर्णय गर्ने गरे पनि ४३.१ प्रतिशत महिलाले रेमिट्यान्सको प्रयोगबारे निर्णय लिन थालेका छन् ।