काठमाडौँ । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको आठ महिनामा पुँजीगत खर्च न्यून देखिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार साउनदेखि फागुनसम्म प्रदेश सरकारले कुल बजेटको २२.३१ प्रतिशत मात्रै खर्च गरेको छ।
मन्त्रालयका अधिकृत सुरज पौडेल का अनुसार सो अवधिमा चालुतर्फ ३०.५६ प्रतिशत खर्च हुँदा पुँजीगततर्फ भने १७.१२ प्रतिशत मात्रै खर्च भएको छ। चालू आर्थिक वर्ष २०८२÷८३ का लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो। तर आठ महिना बित्दासम्म १५ अर्ब ५ करोड ८ लाख ३८ हजार रुपैयाँ मात्रै खर्च भएको मन्त्रालयले जनाएको छ।
अधिकृत पौडेलका अनुसार हालै भएको नवयुवा आन्दोलन का कारण प्रदेश सरकारका विभिन्न संरचनाहरू क्षतिग्रस्त भएका छन्। त्यसका साथै प्रदेश सरकारका निकायहरूले नियमित रूपमा काम गर्न नसक्दा बजेट कार्यान्वयनमा असर परेको र खर्च कम देखिएको उनले बताए। प्रदेश सरकारको विकास निर्माणसँग सम्बन्धित योजनाहरूमा खर्च अपेक्षाभन्दा कम देखिनु चुनौतीका रूपमा देखिएको मन्त्रालयले जनाएको छ।