काठमाडौँ । निर्देशक राजु गिरीको निर्देशनमा बनेको नेपाली फिल्म डल्लेले इन्ट्री मार्यो आगामी चैत्र २७ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म नयाँ वर्षको अवसर पारेर हलमा आउने जानकारी दिएको हो। पोस्टरमा अभिनेता सागर लम्साल र अभिनेत्री रोशनी खड्कालाई देख्न सकिन्छ।
मोडलिङबाट करिअर सुरु गरेकी रोशनी खड्का सन् २०२५ को Miss Nepal अडिसनबाट एकाएक चर्चामा आएकी थिइन्। अडिसनका क्रममा निर्णायक रचना गुरुङले औपचारिक परिचयभन्दा अघि उनको हातबारे प्रश्न गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी व्यापक चर्चामा आएकी थिइन्। जन्मजात एक हत्केला नभएकी रोशनीलाई निरुत्साहित गरिएको भन्दै सामाजिक सञ्जालमा धेरैले प्रतिक्रिया जनाएका थिए। यद्यपि उनले आफ्नो आत्मविश्वास र लगनशीलताका साथ मोडलिङ तथा अभिनय क्षेत्रमा यात्रा अघि बढाइरहेकी छन्।
रोशनीको डेब्यु फिल्म समेत रहेको ‘डल्लेले इन्ट्री मार्यो’ प्रति उनी निकै आशावादी रहेको बताइएको छ। फिल्ममा सागर लम्साल र रोशनी खड्कासहित रमेश बुढाथोकी, रवीन्द्र झा, हेमन्त बुढाथोकी, विशाल पहाडी, कैलाश रावल, रवि गिरी, ध्रुव कोइराला, सावित्री चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, सुष्मा केसी, रामहरि खड्का र निर्देशक राजु गिरी स्वयंको अभिनय रहेको छ। बाल कलाकारहरू काजोल, कंगना गिरी र रोनीश खड्काको पनि फिल्ममा भूमिका रहेको छ।