रामेछापमा ७ उम्मेदवारले १०० मत पनि कटाएनन्

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २५ २०८२
  • तामाकोशी

रामेछाप गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत रामेछापमा उम्मेदवार बनेकामध्ये ७ जनाले १०० मत पनि कटाउन सकेनन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्रै रहेको रामेछापमा ३ जना स्वतन्त्रसहित १७ जना उम्मेदवार चुनावी मैदानमा थिए।

तीमध्ये मंगोल नेशनल पार्टीका विनोद घिसिङ र नेपाल मजदुर किसान पार्टीकी केशरी श्रेष्ठले समान ५६/५६ मत प्राप्त गरेका छन्। नेशनल रिपब्लिक नेपालका यमबहादुर मोक्तानले ७५ मत पाउँदा आम जनता पार्टीका पदमबहादुर तामाङले ३६ मत मात्रै ल्याए।



त्यस्तै स्वतन्त्र उम्मेदवार अरुण कार्कीले ९८, बाबु काँजी खड्काले २२ र सन्तोष घिमिरेले ६१ मत प्राप्त गरेका छन्। यी सबै उम्मेदवारले १०० मतको सीमा पार गर्न सकेनन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार ३ दलका उम्मेदवारले २०० मतसमेत कटाउन सकेनन्। राष्ट्रिय जनमोर्चाका अर्जुनबहादुर थापा मगरले १६१ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका वीरेन्द्र श्रेष्ठले ११५ मत र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का यमुनबहादुर बस्नेतले १५६ मत प्राप्त गरेका छन्।

त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका गोरे तामाङले ५४३ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका ढालबहादुर खपाङ्गी मगरले १ हजार ३३६ मत पाएका छन्।

रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. कृष्णहरि बुढाथोकी विजयी भए ।  आइतबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बुढाथोकीले २४ हजार ८०८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा एमालेका माधवप्रसाद ढुङ्गेललाई ७ हजार १९९ मतान्तरले पराजित गरे ।  ढुङ्गेलले १७ हजार ६०९ मत प्राप्त गरेका छन्।

नेपाली काँग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत प्राप्त गरेका छन्। यसै गरी नेपाल कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका दीपबहादुर योञ्जनले ७ हजार २१० मत पाएका छन्।