रामेछाप । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले एकीकृत सुरक्षा योजना २०८२ अनुसार तय गरिएको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन रामेछापमा संयुक्त सुरक्षा अभ्यास गरिएको छ।
निर्वाचनको अघिल्लो दिन बुधबार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले जिल्लाका विभिन्न स्थानमा संयुक्त अभ्यास गरेका हुन्। भोलि हुने निर्वाचनको सुरक्षा व्यवस्थालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने लक्ष्यसहित पूर्व अभ्यास गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक श्यामकृष्ण थापाले जानकारी दिए।
उनका अनुसार अभ्यासका क्रममा निर्वाचन अघिको सुरक्षा तयारी, मतदान अवधिभरको सुरक्षा रणनीति र मतदान सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा गणना स्थलसम्म पु¥याउने सुरक्षा कार्ययोजनाको पूर्व अभ्यास गरिएको हो।
दुई नगरपालिका र छ गाउँपालिका गरी ६४ वडा रहेको रामेछाप जिल्लामा यस निर्वाचनका लागि ९६ मतदान स्थल र २२८ मतदान केन्द्र तोकिएका छन्। तीमध्ये ४१ मतदान स्थल अति संवेदनशील, ३५ संवेदनशील र २० सामान्य श्रेणीमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ।
तीन तहको सुरक्षा व्यवस्थाबाट निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र विश्वसनीय बनाउने सबै तयारी पूरा भइसकेको प्रमुख जिल्ला अधिकारी थापाले बताए। हाल जिल्लाका सबै मतदान स्थलमा कडा सुरक्षा व्यवस्था लागू गरिएको छ भने व्यापक रूपमा मोबाइल गस्ती सञ्चालन भइरहेको छ। जिल्ला सुरक्षा समितिका अनुसार यो निर्वाचनका लागि जिल्लामा झन्डै १ हजारको हाराहारीमा नेपाली सेना, ६ सय ८० नेपाल प्रहरी र १ हजार ४२९ जना निर्वाचन प्रहरी परिचालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस निर्वाचनमा रामेछापमा १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन् भने २ हजार ४२२ जना अस्थायी मतदाता छन्। तीन जना स्वतन्त्रसहित १४ राजनीतिक दलका १७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।