रामेछाप । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा रामेछापमा तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत सहित कर्मचारीका लागि सञ्चालन गरिएको तीन दिने तालिम बिहीबार सम्पन्न भएको छ।
फागुन १२ गतेदेखि सदरमुकाम मन्थली स्थित मन्थली माविमा सञ्चालन भएको तालिममा मतदान प्रक्रिया, सुरक्षा व्यवस्थापन र निर्वाचन सञ्चालनका व्यवहारिक पक्षबारे प्रशिक्षण दिइएको जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेले जानकारी दिए।
तालिम सम्पन्न भएपछि मन्थली माविको खेल मैदानमा नमुना मतदान अभ्यास समेत गरिएको छ। नमुना मतदानमार्फत मतदानका दिन अपनाउनुपर्ने सुरक्षा, कर्मचारी परिचालन र व्यवस्थापनबारे अभ्यास गरिएको छ।
निर्वाचन अधिकृत लामिछानेका अनुसार यस निर्वाचनका लागि जिल्लाभर मतदान अधिकृत २३० जना, सहायक मतदान अधिकृत २३० जना, सहायक कर्मचारी ६८४ जना र सहयोगी कर्मचारी १३० जना गरी कुल १ हजार ३७४ जना कर्मचारी परिचालन गरिएको छ।
रामेछापमा दुई नगरपालिका र छ गाउँपालिका गरी ६४ वडा रहेका छन्। जिल्लामा ९६ मतदान स्थल र २२८ मतदान केन्द्र छन्।
तीमध्ये ४१ मतदान स्थल अति संवेदनशील, ३५ संवेदनशील र २० सामान्य श्रेणीमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको छ। यस निर्वाचनमा रामेछापमा १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन् भने २ हजार ४२२ अस्थायी मतदाता छन्। निर्वाचनमा तीन जना स्वतन्त्रसहित १४ राजनीतिक दलका १७ उम्मेदवार चुनावी मैदानमा छन्।
