रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२ जना पुगेको छ । प्रहरीका अनुसार काठमाडौँबाट मन्थली–खुर्कोट पुष्पलाल सडक हुँदै रामेछापको सिरिसे ढाँडे भएर ओखलढुङ्गातर्फ आउँदै गरेका बा.प्र ००१–०५ ख ९९७५ नम्बरको (पूर्व अरनिको यातायात प्रालि.) यात्रुवाहक बस रामेछापको मन्थली नगरपालिका वडा नं. ६ स्थित बेनीघाट पुल नजिक मङ्गलवार बिहान करिब १०ः४० बजे दुर्घटनामा परेको हो । बस सडकबाट खस्दै तामाकोशी नदीमा डुबेको थियो ।
दुर्घटनामा परी बसमा सवार ७ जना पुरुष र ५ जना महिला गरी १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बस चालक सहित २० जनाको उद्धार गरी सदरमुकाम मन्थली र सिन्धुलीको खुर्काट स्थित शुभ जीवन हस्पिटल पठाइएकोमा मन्थली अस्पताल लगिएका १२ जनालाई अस्पताले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले बताए । उनका अनुसार मङ्गलवार साँझसम्म मृतक १२ मध्ये ९ जनाको सनाखत भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परि लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङका ४ जनाले ज्यान गुमाएका छन् । सो वडाका अन्दाजी वर्ष ३६ का भिमबहादुर तामाङ र उनकी श्रीमती ३५ वर्षकी सानुमाया तामाङ, ३१ वर्षकी तारा तामाङ र ताराकी भाइ बुहारी अन्दाजी वर्ष २० की रमिता तामाङको मृत्यु भएको छ ।
तारा र रमितका परिवारका अनुसार तारा र रमितका साथमा उनीहरूका एक÷एक जना छोराहरू पनि थिए । उनीहरूको साथमा रहेको दुई जना बालक छोराहरूको अहिलेसम्म अवस्था पत्ता लाग्न सकेको छैन ।
त्यसैसरि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. ७ बस्ने करिब २५ वर्षीया बबि तामाङ, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. ८ बस्ने करिब ६० वर्षीय मानबहादुर तामाङ, रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ का करिब २८ वर्षीय दीपेश बस्नेत, सोही वडाका वर्ष २५ का दीपेन्द्र बस्नेतको ज्यान गएको छ । त्यस्तै सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नं. ६ बस्ने करिब ३४ वर्षीय शिव श्रेष्ठको सनाखत भएको र अन्य मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी ५ जना पुरुष र ३ जना महिला गरी ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस चालक रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ११ बस्ने करिब ३१ वर्षीय सुशान्त थापा मगरलाई सामान्य घाइते भई उपचारपश्चात् प्रहरीको नियन्त्रणमा राखेको छ ।
त्यसै गरी रामेछाप खाँडादेवी गाउँपालिका वडा नं. ३ बस्ने करिब २१ वर्षीय समीर श्रेष्ठ, ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका वडा नं. २ बस्ने करिब ४५ वर्षीय जयबहादुर तामाङ, दोलखा भीमेश्वर नगरपालिका वडा नं. ७ बस्ने करिब १६ वर्षीया नीलिमा तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका वडा नं. ७ बस्ने करिब ६ वर्षीया निष्मा शेर्पा, सोही ठाउँ बस्ने करिब ५२ वर्षीय सोम टेण्डी शेर्पा, रामेछाप मन्थली नगरपालिका वडा नं. १२ बस्ने करिब ३३ वर्षीया देवकी खड्का र रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नं. ४ बस्ने करिब ५१ वर्षीय ओलकबहादुर थापा घाइते भएका छन्।
घाइतेहरूमध्ये ७ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने एक जनाको मन्थली अस्पतालमै उपचार प्रहरीले जनाएको छ । दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीयवासीको सहयोगमा तत्काल खोज तथा उद्धार कार्य गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको बताउँदै प्रहरी निरीक्षक तिम्सिनाले मृतकका परिवारले मृतकसँग बच्चाहरू रहेको बताएकाले दुर्घटना स्थल तामाकोशीमा गोताखोर सहित खोजिकार्य अझै जारी रहेको बताए ।
